एप्पलको स्मार्टघडी प्रयोगकर्ताको स्वास्थ्य र फिटनेस मापन गर्न उपयोग भइरहेको छ।

उपकरणमा भएको इसिजी फिचरले प्रयोगकर्ताको मुटुबाट विद्युतीय संकेत रेकर्ड गर्छ र त्यही आधारमा स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्याजेटनाउका अनुसार अब भने एप्पलले आफ्नो स्मार्टघडीमा नयाँ फिचर थप्ने तयारी गरिरहेको छ, जसबाट प्रयोगकर्ताको शरीरमा मधुमेह छ वा छैन मापन गर्न सकिने छ।

एप्पलले स्मार्टघडीमा ग्लुकोमिटर नामक फिचर ल्याउन लागेको हो। जसले विशेषगरी रगतमा हुने ग्लुकोजस्तर मापन गर्न प्रयोग हुन्छ।

कम्पनीले आफ्नो स्मार्टघडीमा भने मरामान स्पेक्ट्रोसकोपी टेक्नोलोजीको मद्दतबाट ग्लुकोजका स्तर मापन गर्ने रिपोर्टले बताएको छ। सो टेक्नोलोजीले लेजर लाइट मार्फत प्रयोगकर्ताको शरीरमा मधुमेह बढ्ने जोखिम कति छ भन्ने जानकारी स्मार्टघडीमा देखाउँछ।

एप्पलले स्मार्टघडीमा नयाँ ग्लुकोमिटर फिचर ल्याउनको लागि केही समय अघिदेखि काम गरिरहेको थियो।

विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको बेला यो सुविधा सबैका लागि सहज रुपमा उपयोगी हुन सक्ने कम्पनीको भनाइ छ।

हरेक वर्ष कम्पनीले आफ्नो स्मार्टघडीमा नयाँ फिचर थप्दै आएको छ। अब चाँडै सार्वजनिक हुने भनिएको ग्लुकोमिटर फिचरले पनि राम्रो सफलता पाउने आशा गरिएको छ।

एप्पलका सिइओ टिम कुक आफ्नो स्मार्टघडी विशेष उपकरणको रुपमा लिने गर्छन्।

उनको अनुसार प्रयोगकर्ताको स्वास्थ्यलाई ध्यान दिएर काम गर्दै जाने हो भने भविष्यमा यही स्मार्टघडीले एप्पलको विरासत धान्ने छ।