
चितवन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले वर्तमान ओली नेतृत्वको सरकार एकदिन कोमामा पुग्ने बताएका छन्। संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल केन्द्रीय समितिको स्थापना दिवस तथा तेस्रो साधारण सभालाई सम्बोधन गर्दै शर्माले जनताको अधिकार खोस्ने सरकार अस्पतालको एम्बुलेन्स चढेर कोमामा पुग्ने बताएका हुन्।‘राज्य शक्ति र पदको समेत दुरुपयोग गरेर जनतालाई हैरान बनाउने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘अदृश्य शक्तिको आडमा उहाँहरु सधैं रहन्छु भन्नुभएको छ। हरेक मान्छेको मृत्यु हुन्छ, एम्बुलेन्समा जानै पर्छ। त्यसकारण यो सरकार पनि एम्बुलेन्समा चढ्ने छ।अस्पतालको कोमामा जाने छ।’नेता शर्माले जनतालाई घात गर्ने र राष्ट्रलाई नै खतरामा पार्ने कुरा आफूहरुलाई स्वीकार्य नभएको बताए।
एम्बुलेन्स चालकलाई सरकारी जागिर
शर्माले एम्बुलेन्स चालकलाई सरकारले जागिर दिनुपर्ने बताएका छन्। ‘स्वास्थ्य सेवा निःशुल्क गर्ने कुरा मौलिक अधिकारमा लेखिएको छ,’ उनले भने, ‘निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने अवस्थामा सरकारले सबै एम्बुलेन्स चालकलाई जागिर दिनुपर्छ। सरकारले जागिर दिएर बिरामीलाई निःशुल्क सेवा दिने हो।’प्रतिनिधि सभा पुनर्स्थापना गरेर एम्बुलेन्स चालकलाई परेको समस्यालाई सम्बोधन गर्ने गरी कानुन संशोधन गर्ने उनले आश्वासन समेत दिए। ‘अहिलेको सरकारलाई भन्नु त छैन। संविधानकै हनन् गर्छ,’ उनले भने, ‘संविधानलाई बहाली गरेर एम्बुलेन्स चालकको समस्या सम्बोधन गर्नुपर्छ।’