
काठमाडौं ।नेपाल प्रहरीले आमहड्तालका नाममा गैरकानुनी क्रियाकलाप गर्नेलाई कारबाहीको दायरमा ल्याउने बताएको छ । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार (भोलि) आमहड्तालको घोषणा गरेको छ।आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने नेकपाले जनाएको छ ।तर, सवारी–साधन सञ्चालनमा अवरोध गर्दा विद्यार्थीहरु परीक्षा केन्द्रसम्म पुग्न समस्या हुने देखिन्छ । प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरे पनि गैरकानुनी क्रियाकलाप गरे नियन्त्रणमा लिएर कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले बाह्रखरीलाई बताए ।उनले भने, “सुरक्षा व्यवस्था कडा पार्छौँ ।पसल बन्द गराउँदै हिँड्ने र अन्य गैरकानुनी कार्यमा लागेकाहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने काम हामी गर्छौँ । कसैलाई जबर्जस्ती गरे पनि हामी कारबाही गर्छौँ ।”