म्याग्दीका पत्रकार प्रताप बानियाँलाई ‘मिडिया सोसाइटी अवार्ड–२०७७’ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीको चौथो वार्षिक साधारणसभाका अवसरमा आज बेनीमा आयोजित समारोहमा रु सात हजार १५० नगदसहित उहाँलाई पुरस्कृत गरिएको हो ।संस्थाका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य सुदर्शनकुमार श्रेष्ठले बानियाँलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो । बेनीबाट प्रकाशन हुने ‘रुप्से दैनिक’ पत्रिकाका सहसम्पादक बानियाँ ‘नेपाल टेलिभिजन’, ‘नेपाल समाचारपत्र दैनिक’, ‘उज्यालो ९० नेटवर्क’, ‘धवलागिरि टेलिभिजन’लगायत सञ्चारमाध्यममा आबद्ध हुनुहुन्छ ।विसं २०७४ मा जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमका सञ्चालक आवद्ध सोसाइटीले विसं २०७५ देखि वर्षमा एक सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको सचिव अमित विश्वकर्माले जानकारी दिनुभयो । रु दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा १० वर्षदेखि काम गरेका एक संस्थाका सदस्य सञ्चारकर्मीलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य र अमित विश्वकर्मा सम्मानित भइसक्नुभएको छ ।साधारणसभामा नागरिक समाजका संयोजकसमेत रहनुभएका ज्येष्ठ सदस्य श्रेष्ठले सङ्कटमा परेका जिल्लाका सञ्चारमाध्यमको संरक्षण र प्रवद्र्धन तथा पत्रकारिताको विकासमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चारमाध्यमलाई विनियोजन गरेका बजेट स्थानीय सञ्चारमाध्यममार्फत परिचालन, सार्वजनिक सुनुवाइ, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ । साधारणसभाले सचिव विश्वकर्माको प्रगति र कोषाध्यक्ष आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ ।