बिपिपि/दमक
झापाका प्रमुख राजनीतिक दलहरुले आचार संहिताको खिल्लि उडाउदै निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् । अधिकाँश राजनीतिक दलहरुले आचारसंहिताको खिल्लि उडाइरहेको पाईएको छ ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा लगायतका राजनीतिक दलहरुले मतदातालाइ प्रभावमा पार्नलाइ आचारसंहितको उलङ्घन गरिरहेको पाईएको हो ।
झापाका प्रमुख बजार तथा सार्वजनिक स्थलहरु झण्डामय बनाईएको छ । राजनीतिक दलका स्थानीय तहका प्रमुख, उपप्रमुख देखि लिएर वडाध्यक्षहरुसम्मले तुल र ब्यानर ठाँउठाँउमा झुण्ड्याएकाछन् ।
प्रमुख तथा उप्रमुखका उम्मेदवारहरुले एक÷एक वटा सवारी साधन प्रयोग गर्न पाइने बताइएपनि एउटै उम्मेदवारले दमक लगायतका प्रमुख नगरहरुमा ५ देखि ७ वटासम्म सवारी साधनहरु प्रयोग गरिरहेकाछन् ।
सडक र बिजूलीका पोल, बस स्टेण्ड, सार्वजनिक फलैचा लगायतका सबै ठाँउमा झण्डा राख्ने होड शुरु भएको छ । टि–सर्ट, टोपी, झोला लगायतका जिन्सि सामानहरु समेत बितरण गर्ने र सडकहरुमा ग्राभेलका लागि गिटी बालुवा खन्याउनेसम्मका कामहरु भएपनि निर्वाचन आयोगले चासो नदिएको बताइन्छ ।
मतदातालाइ प्रभावमा पार्नका लागि दमक लगायतका क्षेत्रमा धमाधम रुपमा बिधूतका काम, सडकमा ग्राभेल लगायतका कार्यहरु भइरहेको श्रोतको भनाइ छ ।
निर्वाचन आयोगको कार्यालय झापाले उम्मेदवारी दर्तापछि आचारसंहिता अनुगमन गरिने बताउने गरेको छ । निर्वाचन आयोग झापाका प्रमुख गोपाल आचार्यले आफूहरुले आचार संहिता पालना गर्नका लागि बारम्बार रुपमा राजनीतिक दलहरुलाइ आग्रह र सचेत गराएको जनाउनु भयो ।
उम्मेदवारी दर्तापछि भने कडाइका साथ अनुगमन गर्ने समेत उहाँको भनाइ रहेको छ ।
माइकिङले झर्को
झापाको दमकमा माइकिङका कारण मतदाताहरु नै रुष्ट हुने अवस्था आएको छ । मुख्य बजार, चोक देखि लिएर अस्पताल अगाडि पनि लगेर चर्को ध्वनी लगाएर माइकिङ भइरहेको छ । सिटि रिक्सा देखि लिएर अन्य गाडिहरुको प्रयोग भएको छ । गीत र भोट मागेका भाषणका कारण मतदाता नै रुष्ट हुने अवस्था आएको बताइएको छ । दमक ६ थानारोडका एक ब्यापारीका अनुसार कानमा रुवा नै लगाउनु पर्ने अवस्था आएको छ ।



