
कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्नुहुन्थ्यो।सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए ।प्राथमिक शिक्षादेखि काठमाडाँै अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै शैक्षिक क्षेत्रको विकासका लागि २०४६ सालमा महेन्द्रनगरमा आर्दश विद्या निकेतन सञ्चालन गर्नुभयो । “मलाई याद हुँदा धनगढीमा त्रिनगर मावि थियो । कञ्चनपुरमा त स्कूल नै थिएन”, पन्तले भन्नुभयो, “अहिले त घर आगँनमै चाहेको शिक्षा हासिल गर्नसक्ने अवस्था विद्यार्थीमाझ छ ।”उहाँले महेन्द्रनगरमा बैजनाथ मावि र महेन्द्रनगर उच्च मावि सञ्चालनमा आएपछि शैक्षिक गतिविधि सञ्चालनमा आएको बताउनुभयो ।
“तीसको दशकमा यहाँ सिद्धनाथ विज्ञान क्याम्पस सञ्चालनमा आएपछि यहाँको चर्चा शैक्षिक जगत्मै भयो”, उहाँले भन्नुभयो, “अहिले त प्राविधिक शिक्षादेखि चाहेअनुसारको विषय पढ्ने वातावरण बनेको छ ।” अहिले कञ्चनपुरमा मात्रै २५० भन्दा बढी विद्यालय सञ्चालनमा छन् । सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हँुदै गइरहेको उहाँको भनाइ छ ।त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन डा टेकराज पन्त यहाँको शिक्षा क्षेत्रमा भएको प्रगतिप्रति सन्तुष्ट हुनुहुन्छ । चालीसको दशकअघि यहाँ शैक्षिक क्षेत्रमा जनताको पहुँच कम भए पनि अहिलेको शैक्षिक विकास लाखौँ गुणाले अगाडि भइसकेको डा पन्तको भनाइ छ । “डडेल्धुरामा प्राथमिकस्तरको शिक्षापछि थप शिक्षा हासिल गर्न भारत जानु पर्यो”, उहाँले भन्नुभयो, “२०३३ सालमा बीएड गर्ने महेन्द्रनगरमा चार जना मात्रै थियौँ ।
”लामो समय शैक्षिक विकास र अध्यापनमा खर्चेका पन्तले २०५७ सालमा यहाँको तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पसमा पहिलो पटक स्नातकोत्तर तहको अध्ययनका लागि स्वीकृति मिलेको बताउनुभयो ।“पहाडसँगै तराईका जिल्लामा पनि यहाँ शिक्षाको प्रबन्ध राम्रो थिएन”, उहाँले भन्नुभयो, “२०२४ मा पहिलो पटक कञ्चनपुरमा ‘बैजनाथ मावि’ माविस्तरको स्कुल थियो ।” उहाँले बैजनाथ मावि एक शिक्षक र एक विद्यार्थीबाट शुरु भएको जानकारी दिनुभयो । उहाँले सडक सञ्जाल विस्तार नहुनुका साथै भौगोलिक विकटताका कारण काठमाडौँ र भारत अध्ययनका लागि जान खर्चिलो र झन्झट हुने गरेको विगत सुनाउनुभयो । “अहिले त वडा वडामा स्कुल छन्”, उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा पनि स्थानीयस्तरमै अध्ययन गर्न पाउनु हर्षको कुरो हो ।” गरीब परिवारमा पनि शिक्षाप्रतिको प्रेमको वातावरण बनेको पन्तको भनाइ छ ।उहाँले यहाँ प्राविधिक शिक्षा सञ्चालनमा रहे पनि दक्ष प्राध्यापकको अझै खाँचो रहेको बताउनुभयो । विसं २०६७ सालमा महेन्द्रनगरमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय खुलेपछि शैक्षिक क्षेत्रको विकासमा थप टेवा पुगेको उहाँको भनाइ थियो ।
त्यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका लेखाअधिकृत अशोक भण्डारीले यसवर्ष तीन वटा विषयमा एमफिल र विद्यावारिधि कक्षा सञ्चालन भएको बताउनुभयो । दुवै तर्फ १२० विद्यार्थी भर्नासमेत भइसकेको विश्वविद्यालयले जनाएको छ ।करीब १९ हजार विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयसित १६ वटा क्याम्पस आङगिक क्याम्पसका रूपमा आबद्ध छन् । “यो वर्ष बिएएलएलबी र बिएसडब्लु विषयमासमेत कक्षा सञ्चालन भए”, भण्डारीले भन्नुभयो, “कोरोना कहरमा पनि हामीले अनलाइन कक्षा र अनलाइन विधिबाटै सम्पूर्ण परीक्षा समयममै सञ्चालन गर्न सफल भयौँ ।”त्यसैगरी नेपाल विद्यार्थी सङ्घका नेता इन्द्र साउद यहाँको शैक्षिक विकासका निम्ति विद्यार्थी सङ्घ÷सङ्गठन पनि सहयोगी भूमिकामा रहनुपर्नेमा जोड दिनुहुन्छ । “विद्यार्थीको हकहित र शैक्षिक सुधारका लागि रचनात्मक दबाब दिने हो”, नेता साउदले भन्नुभयो, “त्यही नाउँमा बन्द हड्ताल गरेर शैक्षिक वातावरण अब कसैले बिगार्नु हुन्न ।”