बीबीसी। बन्दुकधारी समूहले गत साता नाइजेरियाको उत्तर–पश्चिममा रहेको एक विद्यालयबाट अपहरण गरी लगेका २७९ छात्रालाई रिहा गरेका छन्।

प्रहरीका अनुसार गत शुक्रबार बन्दुकधारीले जम्फ्रा राज्यको एक विद्यालयबाट छात्राहरूलाई अपहरण गरी लगेका थिए। उनीहरूले छात्राहरूलाई जंगलमा लगी राखेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“मलाई यो घोषणा गर्दा एकदमै खुसी लागेको छ– अपहरणमा परेका छात्राहरू सबै रिहा भएका छन्,” जम्फ्रा राज्यका गर्भनर बेले मटावालेले ट्वीटर मार्फत भनेका छन्।

बन्दुकधारीहरूले २७९ छात्राहरूलाई रिहा गरेका छन्। यसअघि स्थानीय प्रहरीले शुक्रबार बन्दुकधारीले ३१७ छात्राको अपहरण गरेको जनाएको थियो। उक्त तथ्याङ्क गलत भएको प्रहरीले आज जनाएको छ।

सरकारले बन्दुधकारीसँग वार्ता गरी ती छात्राहरूलाइ छुटाएको जनाइएको छ।

गर्भनर मटावालेले छात्राहरू रिहा गर्नको लागि बन्दुधकारीलाई कुनै फिरौती रकम नदिइएको बताएका छन्।

केही दिन अघि नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले यसअघिका घटनामा बन्दुकधारीलाई फिरौती र गाडी दिई अपहरणमा परेकालाई मुक्त गरिएको स्वीकारेका थिए।