काठमाडौँ।  महाशिवरात्रि पर्वमा सहभागी हुने साधुले कोरोना सङ्क्रमणबाट जोगिने सबैै मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ । मास्क लगाएर, सेनिटाइजर प्रयोग गरेर, बारम्बार हात धोएर र भौतिक दूरी कायम गरेर मात्र धुनी जगाउन अनिवार्य छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पर्व आयोजना गर्ने गराउने सबैले यसको कडा अनुगमन गर्नुपर्ने छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाका अनुसार पर्वमा स्वास्थ्य शिविर खडा गर्ने गरी नेपाल रेडक्रस, परोपकार, रामघाट स्वास्थ्य केन्द्र, बागमती अञ्चल आयुर्वेद औषधालयलगायत केही निजी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गर्दा साधु सन्त र भक्तजनले यी मापदण्ड पूरा गरे नगरेको पनि अनुगमन हुनेछ ।

बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा. अञ्जु कार्कीका अनुसार औषधालयबाट आयुर्वेदीय उपचार हुनेछ । पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रका अध्यक्ष प्रवेश भण्डारीका अनुसार आवश्यक परेमा साधु सन्तको पीसीआर परीक्षण गरिने छ ।कोरोनाविरुद्धको खोप साधु सन्तलाई दिने कार्यक्रम छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले खोप लिन सामान्य केही प्रक्रिया पूरा गर्नुपर्ने र साधु सन्त तीन दिन मात्र यहाँ रहने भएकोले यो सम्भव नभएको बताए । पशुपति क्षेत्रमा पर्व मनाउन साधुको आगमन सुरु भइसकेको छ । धुनी जगाउन सयौँ केजी दाउरा ल्याइसकिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले महाशिवरात्रिमा भक्तजनलाई सामाजिक दूरी कायम गर्ने गरी मन्दिरका चारै ढोका खुला गरेर आवागमन व्यवस्था गरिने बताए । पशुपति गुठी गोश्वाराका वरिष्ठ लेखा सहायक युवराज रेग्मीले साधु सन्तलाई भौतिक दूरी कायम गराएरै धुनीको आसनमा राख्ने र उनीहरूलाई भोजन तथा दानदक्षिणाको प्रबन्ध गरिएको जानकारी दिए ।