रुकुम पूर्व : आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका कृषकले खडेरी परेपछि सुँगुर पूजा गर्दै पानी मागेका छन्।सिँचाइ सुविधा नपाएका जिल्लाका कृषकले आकाशेपानी मागेका हुन्। आकाशे पानीको भरमा खेतीपाती गर्दै आएका रुकुम पूर्वका कृषकले खडेरीमा आकाशेपानी माग्ने पुस्तौं देखिको चलन कायमै छ।जिल्लामा अहिले हिउँदे बाली, जौ र गहुँ लगायत तरकारी हुर्किरहेको छ। सिँचाइ सुविधा नभएकाले लामो समयसम्म खडेरी भएपछि स्थानीयले परम्परा प्रचलन अनुसार आकाशेपानी मागेका हुन्। मगर बस्तीमा परम्परादेखि खडेरीको बेला उच्च भेगमा पानीको मुहानसम्म पुगेर नाचगान तथा होहल्ला गरेर फर्किने गर्छन्। यसरी होहल्ला गरिदिँदा भूमि देवता अशान्त भएर वर्षा गरिदिने जनविश्वास रहेको छ।

जिल्लाको पुथाउत्तरगंगा–१० तकसेरामा गोठालो समूहको निर्णयले बिहानै भूमि देवतासँग पानी माग्न वृद्धवृद्धा, युवायुवती पानीको मुहान–मुहानमा होहल्ला गरी पूजा गरेका हुन्। पानी माग्ने दिन केही फोहोरी शब्द बोल्दा कोही पनि रिसाउन नपाउने गोठालो समूहका अध्यक्ष बिष्णु बुढामगरले बताए।यहाँका समुदायले अरू समयमा फोहोर वा जुठो हुन्छ भनेर सुँगुरको मासु लेकतिर लाग्ने गर्दैनन्। तर, पानीको लागि करिब ३५ सय मिटर उचाइको उच्च भूभागमा पुगेर सुँगुरको पूजा गर्दछन्।लेकमा पूजा गरिसकेपछि केही तल झरेर पानीको अर्को मुहानमा सुँगुरको पूजा गरेर आकाशेपानी माग गर्ने परम्पराको प्रचलन रहेकोले स्थानीय वृद्धवृद्धाको भनाइ रहेको छ। खडेरी भएपछि बाजागाजासहित होहल्ला र मुल पानीमा सुँगुरको पूजा गरेपछि वर्षा हुने जनविश्वास राख्दै आइएको अध्यक्ष बुढाले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लामा तीन स्थानीय तह मात्र रहेकोमा पुथाउत्तरगंगा र भूमे गाउँपालिकाका खाम भाषी मगर समुदायले लामो समयसम्म पानी नपरेपछि पानीको मूलमा सुँगुरको पूजाआजा गरी आकाशेपानी माग्ने प्रचलन रहेको छ। अब आलु र मकै रोप्ने समय आएकोले आकाशेपानी नपरेपछि कृषक चिन्तित भएका छन्। सरकारले सिँचाइ सुविधातर्फ ध्यान नदिएको कृषकहरूले गुनासो गरेका छन्‌।