बीबीसी । तेस्रो लहरको कोरोना संक्रमणको खतरा बढेपछि फ्रान्सको राजधानी पेरिसमा एक महिनाका लागि लकडाउन हुने भएको छ । २ करोड १० लाख नागरिक बसोबास गर्ने १६ क्षेत्रमा शुक्रबार मध्यरातदेखि लकडाउन कार्यन्वयन हुने छ । तर, अहिलेका नियमहरु यसअघिका लकडाउनमा जति कडा नहुने प्रधानमन्त्री जिन केसटेक्सले बताएका छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ३५ हजारभन्दा धेरै नयाँ संक्रमितहरु थपिएका छन् । यस्तोमा प्रधानमन्त्री जिनले रोयटर्ससँग कुरा गर्दै अहिलेको फैलावटलाई नियन्त्रण बाहिर जान नदिने आफूहरुको जिम्मेवारी भएको बताएका छन् ।
विशेषगरी पेरिसमा अवस्था चिन्ताजनक भएको बताइएको छ । जहाँ इन्टेसिभ केयरमा १२ सय जनालाई राखिएको छ । गम्भीर बिरामीहरुको यो सङ्ख्या नोभेम्बरको दोस्रो लहरभन्दा धेरै भएको स्वास्थ्य मन्त्री ओलिभिअर भेरानले बताए । यता, गर्मियाम सुरु भएपछि पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा गरिरहेका पेरिस क्षेत्रका व्यवसायीहरुमा यसले अधिक नोक्सान पुर्याउनेबारे भने चिन्ता व्यक्त गरिएको छ ।
नयाँ लकडाउन अन्र्तगत अतिआवश्यक बाहेकका सबै कामकाज बन्द गर्न लगाइनेछ तर स्कुलहरु खुला रहने भनिएको छ । नागरिकलाई आफ्नो घरको १० किलोमिटरसम्म एक्सरसाइज गर्न दिइनेछ तर देशका अन्य भूभागमा बिना कुनै विशेष कारण भ्रमण गर्न अनुमति छैन । त्यस्तै प्रभावित क्षेत्रका नागरिकले घर छाड्नु परेमा यसको कारण बताउँदै आवेदन फारम भर्नुपर्ने हुन्छ ।फ्रान्सको देशव्यापी कफ्र्यु भने यथावत रहने बताइएको छ । अबबाट बिहान ७ बजेदेखि सो कफ्र्यु हट्नेछ ।



