काठमाडौं । विद्युत् प्राधिकरणले प्रसारण प्रणालीलाई भूमिगत गर्ने काम समयमा सम्पन्न नगर्दा महाराजगञ्ज आसपासका सडक खाल्डाखुल्डी भएका छन् । प्राधिकरणले दुई वर्ष पहिले प्रणाली भूमिगत गर्न शुरु गरे पनि अझैसम्म सम्पन्न नगर्दा सडकको अवस्था खराब भएको सडक विभागले जनाएको छ । सो सडक मर्मतका लागि अहिले ठेक्का प्रक्रिया अघि बढाइएको छ । ठेक्का सम्झौता हुने क्रममा रहेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले बताए । प्राधिकरणले तार जमीनमुनि राखिसकेर सडक पुनःस्थापित गर्ने उनले बताए । प्राधिकरणले पहिले सम्झौतामा उल्लेख भएको समयमा पुनःस्थापना गर्न नसकेको उनले जानकारी दिए ।
सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइएको छ । उक्त प्रविधि अपनाउँदा केही मिटरको दूरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हालिएको छ । ठाउँठाउँमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिमसमेत रहेको स्थानीयवासी बताउँछन् ।



