न्होमपेन्ह- चीनका राष्ट्रपति सि जिङ्गपिङ औपचारिक भ्रमणका लागि बिहीबार कम्बोडिया पुगेका छन्।
परम्परागत मित्रवत सम्बन्धलाई निरन्तरता दिँदै आपसी सहयोग अभिवृद्धिका लागि सदासयता देखाउन र दुई देशबीचको रणनीतिक सहकार्यका लागि उनले कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन्।

दक्षिणपूर्वी एसियामा सिको राष्ट्रपति भएयता यो नै पहिलो भ्रमण हो। उनले यसअघि उपराष्ट्रपतिको रुपमा सन् २००९ कम्बोडियाको भ्रमण गरेका थिए। सिले कम्बोडियामा राजा नोरोडोम सिहामोनी, महारानी नोरोडोम मोनिनेथ सिहानौक र प्रधानमन्त्री हुन सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

दुई देशबीच थप सहयोग र सहकार्य बढाउने विषयमा सिको भ्रमणका क्रममा सम्झौता समेत हुने जनाइएको छ। कम्बोडियाका अहिलेका राजाका पिता र चीनका अघिल्लो पुस्ताका नेताहरुले यी दुई देशबीचको परम्परागत मित्रतालाई सुमधुर बनाएका थिए।

यसअघि यही बर्षको जुन महिनामा चीनको बेइजिङमा राजकिय भ्रमणमा गएका बेला राजा सिहामोनीले राष्ट्रपति सिसँग भेटवार्ता गरेका थिए। आर्थिक दृष्टीकोणले चीन कम्बोडियाको सबै भन्दा ठुलो व्यापारिक साझेदार र वैदेशिक लगानीकर्ता हो।

चीनले कम्बोडियोको व्यापार, ऊर्जा र पूर्वाधार निर्माणमा बढी साझेदारी र लगानी गरेको छ। भारतको गोवामा आयोजना हुनलागेको ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग बिहीबार बिहान चीनबाट प्रस्थान गरेका थिए।

शिखर सम्मेलन सुरु हुनुपूर्व उनले कम्बोडिया र बङ्गलादेशको औपचारिक भ्रमण जान लागेका हुन्। यसैक्रममा उनी कम्बोडिया पुगेका हुन्। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय