
छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।
ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ ।ती मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।यस्तै, बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक समेत बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक कोरोना कहरका बीच सीसीएमसीले गरेको कामकारबाही समेटिएको पुस्तक विमोचन गर्ने कार्यक्रम पनि रहेको एक मन्त्रीले जानकारी दिए ।
स्वास्थ्य मापदण्ड पालनामा मन्त्रालयको जोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि सोको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ ।मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको आरडीटी तथा सम्भव भएसम्म कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था मिलाउन प्रवेश स्वास्थ्य निर्देशनालयसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।यस्तै, परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई उचित उपचारको व्यवस्था गर्न, स्थानीय निकाय, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग तथा समन्वय गर्न पनि आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
क्वारेन्टिन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्न, रोगको निगरानीलाई चुस्त बनाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनका साथै सबै अस्पताललाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि मन्त्रालयले निर्देशन दिएको छ ।उसो त गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न ७७ वटै जिल्लामा सर्कुलर समेत गरिसकेको छ ।
विज्ञ भन्छन्– इतिहासको गल्ती नदोहोरियोस्
कोरोनाको संक्रमण बढ्न नदिनका लागि सबैभन्दा धेरै आम नगरिकनै जिम्मेवार हुनुपर्ने शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन जोड दिन्छन् ।‘कोरोना संक्रमण रोकथाम र न्यूनीकरण गर्नका लागि पहिलो कुरा त जनता नै सचेत हुनुपर्छ’, उनले रातोपाटीसँग भने, ‘स्वास्थ्य मापदण्ड पालना गर्नमा जनता जागरुक हुनुपर्छ । सरकारले पनि विगतको गल्तीबाट पाठ सिक्दै कोरोना रोकथाम र न्यूनीकरणमा ध्यान दिनुपर्छ ।
उनले पछिल्लो समय जनस्वास्थ्यको मापदण्ड पालनामा आम नागरिकले ध्यान नदिएको जस्तो पाइएको भन्दै त्यस्तो गल्ती नगर्न सचेत गराए । जनस्वास्थ्यका मापदण्ड सही ढंगले पालना गरे काठमाडौं र देशका अन्य सहरमा पनि सहजै कोरानाको रोकथाम र न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले विगतमा सरकारी तहबाट पनि कोरोना रोकथाम र न्यूनीकरणमा विभिन्न कमजोरी भएको उल्लेख गर्दै अब इतिहासको त्यस्तो कमजोरी दोहो¥याउन नहुनेमा जोड दिए ।‘विगतको कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने हो, फेरि गल्तीको इतिहासका नदोहोरियोस्’, उनले भने ।
भ्याक्सिन लगाएकाले लापरवाही नगरौं
डा. पुनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने कतिपय बाट मास्क नलगाउने तथा स्वास्थ्य मापदण्ड पालनामा पनि लापरबाही गर्ने गरेको पाइएको भन्दै त्यस्तो नगर्न सचेत गराए । भ्याक्सिन लगाएकालाई पनि जोखिम हुनसक्ने तथा उनीहरुबाट अरुलाई कोरोना सर्न सक्ने उनको भनाइ छ । ‘भ्याक्सिन लगाइसकेको छु भनेर कतिपयले लापरवाही गरिरहेको पाइन्छ, यो गलत हो’ उनले भने, ‘उहाँहरूबाट पनि जोखिम रहन्छ । लापरबाही गरिनुहुन्न । ’लकडाउनविनै सरकारले सीमा नाकामा कडाइ, आइसोलेशन र क्वारेन्टिनको उचित व्यवस्थापनका साथै परीक्षण र कन्ट्याक्ट ट्रेडिङलगायतका गर्नुपर्ने कामहरु चुस्त दुरुस्त ढंगले गर्नुपर्ने उनको सुझाव छ । यस्तै स्थानीय सरकारले पनि सक्रियतापूर्वक आफ्नातर्फबाट गर्नुपर्ने काममा लाग्नुपर्ने जरुरी रहेको पनि उनले बताए ।