छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको छ ।स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो साता संक्रमण दर बढ्दै गएको देखिएको छ । मन्त्रालयको विवरणअनुसार मंगलबार ४ हजार ३२ जनामा कोरोना परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार पनि १५० जनामा संक्रमण पुष्टि भएको थियो ।  यसअघि आइतबार ७७ जनामा संक्रमण पुष्टि भएको थियो ।

हाल नेपालमा आइसोलेशनमा १ हजार १२८ जनामात्रै भए पनि बढ्दो संक्रमण दर र पर्याप्त सावधानी नअपनाइनुले पुनः संक्रमणको अवस्था भयावह बन्ने हो कि भन्ने चिन्ता बढेको छ । सँगसँगै देश पुनः लकडाउनमा जाने हो कि भन्ने चिन्ता समेत थपिएको छ ।सरकारले कोरोना संक्रमण बढ्दै गएपछि गत वर्ष चैत ११ अर्थात आजकै दिन लकडाउनको घोषणा गरेको थियो । करिब चार महिना लामो लकडाउन हुँदा अर्थतन्त्र क्षेत्र ध्वस्त हुनुका साथै जनजीवन कष्टकर बनेको थियो । लकडाउनपछि जनजीवन सामान्य अवस्थातिर फर्किँदै गर्दा फेरि संक्रमणको दोस्रो लहरको त्रास सुरु हुनुका साथै आगामी दिन कसरी अघि बढ्ला भन्नेतर्फ आम चासो बढेको छ ।यही आम चासोका बीच सरकार भने पहिलेको जस्तो लकडाउन नगर्ने पक्षमा देखिएको छ । स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै जाने तर, लकडाउन नै भने नगर्ने मुडमा सरकार देखिएको हो ।

ओली सरकारका एक प्रभावशाली मन्त्रीका अनुसार सरकार विगतमा जस्तो हतारमा लकडाउन गरेर कोरोना नियन्त्रणमा लाग्ने भन्दा पनि यसपटक विगतका कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने योजनामा छ ।ती मन्त्रीका अनुसार सरकार तत्काल लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमामा सतर्कता अपनाउने र हवाइ उडानमा थप योजनावद्ध नीति लागू गर्नुका साथै क्वारेन्टिनको उचित व्यवस्थापन र समग्र स्वास्थ्य प्रणालीको सही परिचालनमा सरकारको जोड रहनेछ ।यस्तै, बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक समेत बोलाइएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना रोकथाम र न्यूनीकरणका लागि सरकारले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ । यसबाहेक कोरोना कहरका बीच सीसीएमसीले गरेको कामकारबाही समेटिएको पुस्तक विमोचन गर्ने कार्यक्रम पनि रहेको एक मन्त्रीले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य मापदण्ड पालनामा मन्त्रालयको जोड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतका विभिन्न प्रान्तहरुमा कोभिड–१९ को संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि सोको जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य मापदण्ड पालनामा जोड दिएको छ ।मन्त्रालयले सबै प्रवेश बिन्दुका हेल्थ डेस्कहरुमा ज्वरो आएका यात्रुहरुको आरडीटी तथा सम्भव भएसम्म कोभिड–१९ को पीसीआर परीक्षणको व्यवस्था मिलाउन प्रवेश स्वास्थ्य निर्देशनालयसहित सरोकारवाला निकायलाई आग्रह गरेको छ ।यस्तै, परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएकालाई उचित उपचारको व्यवस्था गर्न, स्थानीय निकाय, स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूले आवश्यक सहयोग तथा समन्वय गर्न पनि आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

क्वारेन्टिन आदेश २०७७ बमोजिमका व्यवस्था लागू गर्न, रोगको निगरानीलाई चुस्त बनाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनका साथै सबै अस्पताललाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि मन्त्रालयले निर्देशन दिएको छ ।उसो त गृहमन्त्रालयले सीमा नाकामा कडाइ गर्न ७७ वटै जिल्लामा सर्कुलर समेत गरिसकेको छ ।

विज्ञ भन्छन्– इतिहासको गल्ती नदोहोरियोस्

कोरोनाको संक्रमण बढ्न नदिनका लागि सबैभन्दा धेरै आम नगरिकनै जिम्मेवार हुनुपर्ने शुक्रराज ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन जोड दिन्छन् ।‘कोरोना संक्रमण रोकथाम र न्यूनीकरण गर्नका लागि पहिलो कुरा त जनता नै सचेत हुनुपर्छ’, उनले रातोपाटीसँग भने, ‘स्वास्थ्य मापदण्ड पालना गर्नमा जनता जागरुक हुनुपर्छ । सरकारले पनि विगतको गल्तीबाट पाठ सिक्दै कोरोना रोकथाम र न्यूनीकरणमा ध्यान दिनुपर्छ ।

उनले पछिल्लो समय जनस्वास्थ्यको मापदण्ड पालनामा आम नागरिकले ध्यान नदिएको जस्तो पाइएको भन्दै त्यस्तो गल्ती नगर्न सचेत गराए ।  जनस्वास्थ्यका मापदण्ड सही ढंगले पालना गरे काठमाडौं र देशका अन्य सहरमा पनि सहजै कोरानाको रोकथाम र न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले विगतमा सरकारी तहबाट पनि कोरोना रोकथाम र न्यूनीकरणमा विभिन्न कमजोरी भएको उल्लेख गर्दै अब इतिहासको त्यस्तो कमजोरी दोहो¥याउन नहुनेमा जोड दिए ।‘विगतको कमजोरीबाट पाठ सिक्दै अघि बढ्ने हो, फेरि गल्तीको इतिहासका नदोहोरियोस्’, उनले भने ।

भ्याक्सिन लगाएकाले लापरवाही नगरौं

डा. पुनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने कतिपय बाट मास्क नलगाउने तथा स्वास्थ्य मापदण्ड पालनामा पनि लापरबाही गर्ने गरेको पाइएको भन्दै त्यस्तो नगर्न सचेत गराए । भ्याक्सिन लगाएकालाई पनि जोखिम हुनसक्ने तथा उनीहरुबाट अरुलाई कोरोना सर्न सक्ने उनको भनाइ छ । ‘भ्याक्सिन लगाइसकेको छु भनेर कतिपयले लापरवाही गरिरहेको पाइन्छ, यो गलत हो’ उनले भने, ‘उहाँहरूबाट पनि जोखिम रहन्छ । लापरबाही गरिनुहुन्न । ’लकडाउनविनै सरकारले सीमा नाकामा कडाइ, आइसोलेशन र क्वारेन्टिनको उचित व्यवस्थापनका साथै परीक्षण र कन्ट्याक्ट ट्रेडिङलगायतका गर्नुपर्ने कामहरु चुस्त दुरुस्त ढंगले गर्नुपर्ने उनको सुझाव छ । यस्तै स्थानीय सरकारले पनि सक्रियतापूर्वक आफ्नातर्फबाट गर्नुपर्ने काममा लाग्नुपर्ने जरुरी रहेको पनि उनले बताए ।