
बाङ्लादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी थिइन्
बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचारिक प्रस्ताव बाङ्लादेश सरकारसमक्ष प्रस्तुत गरिने ढाकास्थित नेपाली राजदूतले बताएका छन्।नेपाल र बाङ्लादेशबीच काठमाण्डू जोड्ने सिधा उडान सञ्चालित छ जसबाट बर्सेनि लगभग ३० हजार बाङ्लादेशी नागरिकहरू नेपालको भ्रमणमा आउने गरेको बताइन्छ।नयाँ हवाई मार्ग सञ्चालनमा आए त्यसले दुई देशबीचको सम्पर्क सञ्जाललाई विस्तार गर्ने र थप पर्यटक नेपाल भित्र्याउन सहयोग गर्ने अधिकारीहरूको अपेक्षा छ।
नयाँ हवाई मार्गको चर्चा
राष्ट्रपति भण्डारीको दुई दिने भ्रमण सम्पन्न भएपछि मङ्गलवार बाङ्लादेशको परराष्ट्रमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ हवाई मार्गको चर्चा गरिएको हो।उक्त विज्ञप्तिमा नेपालले बाङ्लादेशको सैयदपुर विमानस्थलबाट पूर्वी नेपालको विराटनगर वा भद्रपुर विमानस्थलमा सिधा उडान सुरु गर्न इच्छा राखेको र त्यसलाई बाङ्लादेशले स्वागत गरेको भनिएको छ।ढाकास्थित नेपाली राजदूत वंशिधर मिश्रले हवाई सेवा सञ्चालन भएको खण्डमा उत्तर पूर्वी बाङ्लादेशका २ करोड नागरिकले नेपालमा सहजै आवतजावत गर्न सक्ने बताए।”सम्पर्क सञ्जाललाई सुदृढ गरेर धेरै भन्दा धेरै बाङ्लादेशी नागरिक नेपाल जान पाऊन् र नेपालीहरू पनि आऊन पाउन् भनेर हामीले यो प्रस्ताव गरेको हो। सैयदपुर विमानस्थलबाट भद्रपुर विमानस्थल लगभग १५ मिनेट र विराटनगर विमानस्थल लगभग २० मिनेटमा पुग्न सकिन्छ।”
भद्रपुरको भन्दा बढी पूर्वाधार रहेकाले पहिलो चरणमा सैयदपुर र विराटनगर विमानस्थल जोड्ने लक्ष्य नेपालले लिएको छ।राजदूत मिश्रले थपे, “हाम्रो प्रस्तावमा बाङ्लादेश अत्यन्त सकारात्मक र सहमत छ। त्यहाँकी प्रधानमन्त्रीले नै यसमा जोड दिनुभएको छ। छिटो भन्दा छिटो औपचारिक प्रस्ताव नेपालले नै पठाउन वचन दिएको छ। चाँडै यसबारेको राम्रो समाचार आउँछ।”बाङ्लादेशी विज्ञहरूले पनि उक्त कदमले सन् २०२० मा सैद्धान्तिक रूपमा सहमति भएको भनिएको उक्त हवाई मार्गले व्यापार र पर्यटन बाहेक क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने प्रतिक्रिया दिएका छन्।त्यसबाहेक विराटनगरबाट हवाई यात्रा गर्न पाए अध्ययनका लागि ठूलो सङ्ख्यामा नेपालबाट जाने विद्यार्थीहरूको पैसा र समय दुवै बच्ने देखिन्छ।
रणनीतिक महत्त्व पनि
बीबीसी बाङ्लासँग कुरा गर्दै बाङ्लादेशस्थित सेन्टर फर पोलिसी डायलगका अनुसन्धान निर्देशक खोन्दाकेर गोलाम मोआजिमले दुवै देशलाई यसबाट फाइदा पुग्ने बताए।उनले भने, “नेपाल आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय व्यापारका लागि भारतीय बन्दरगाहहरूमा निर्भर छ। त्यसका कारण नेपालले अप्ठेरो पनि भोगेको छ। नेपाल लामो समयदेखि वैकल्पिक मार्गक खोजीमा छ।”,
सैयदरपुर विमानस्थलबाट विराटनगर वा भद्रपुर विमानस्थल जोड्ने प्रस्ताव नेपालले राख्दै आएको छ,सैयदपुरहुँदै नेपालले इन्धनसमेत आयात गर्न सक्ने उल्लेख गर्दै गोलाम मोआजिमले चीनसँग रेल सञ्जालमा जोडिने सहितका निर्णयले नेपालले भारतमाथिको निर्भरता घटाउने उद्देश्य राखेको देखाएको टिप्पणी गरे।सन् २०१९ को अक्टोबरमा भारतको भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री शेख हसिनाले भुटान र नेपाललाई आफूले उनीहरूले चाहेमा सैयदपुर विमानस्थल प्रयोग गर्न सक्ने सुझाव लामो समयदेखि दिइरहेको बताएकी थिइन्।सैयदपुरलाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्न बाङ्लादेशी सरकारले अघि बढाएका कामहरू आगामी चार वर्षभित्र सम्पन्न हुने बताइएको छ।
नेपाल-भारत सम्बन्ध: पारवहन सन्धि पुनरवलोकनपछि नेपालले पाउने थप सुविधा यस्ता छन्
के फाइदा?
बाङ्लादेशी पर्यटकमाझ नेपाल लोकप्रिय छ तर ढाकादेखि काठमाण्डूको उडान खर्च महँगो रहेको र भारतहुँदै नेपाल प्रवेश गर्ने हो भने ट्रान्जिट भिसा प्राप्त गर्न अप्ठेरो रहेको बताइन्छ।ढाका विश्वविद्यालयमा अर्थशास्त्र पढाउने साइमा हक बिदिसा थोरै खर्च र छोटो समयमा नेपाल पुग्ने अवसर सैयदपुरले दिने बताउँछिन्।”यदि सही ढङ्गले योजना बनाइयो भने नेपाल बाङ्लादेशका लागि सम्भावित बजार बन्न सक्छ। त्यही भएर जति बढी सम्पर्क सञ्जालमा जोडियो त्यति धेरै नाफा छ। नेपाल आयातमा निर्भर देश भएकाले बाङ्लादेशले नेपालको विस्तार भइरहेको बजारबाट फाइदा उठाउन सक्छ।”बाङ्लादेशले जुट, तयारी पोसाक, औषधि र कस्मेटिक सामग्री नेपाललाई निर्यात गर्ने गर्छ।बाङ्लादेश सँगको व्यापारमा हाल नेपाललाई घाटा भइरहेको छ।
यो आर्थिक वर्षको सात महिनाको आँकडा हेर्दा नेपालले करिब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको छ भने ३ अर्ब रुपैयाँभन्दा धेरैको आयात गरिरहेको छ।अनुसन्धान निर्देशक गोला मोआजिमले सैयदपुर विराटनगर हवाई मार्ग सञ्चालनमा आए त्यसले विमान बाङ्लादेशलाई ठूलो फाइदा पुर्याउने बताए।हाल ढाकाबाट विमान बाङ्लादेश र काठमाण्डूबाट हिमालय एअरलाइन्सले नेपाल बाङ्लादेश सिधा उडान गरिरहेका छन्।ढाकास्थित नेपाली राजदूत मिश्रका अनुसार सैयदपुर-विराटनगर हवाई मार्ग सञ्चालनमा आउँदा नेपालका अरू धेरै निजी वायुसेवाहरूलाई बाङ्लादेशसम्म उडान गर्न बाटो खुल्नेछ।