
महोत्तरीमा बेपत्ता रहेका वृद्ध दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा बिहीवार फेला परेको छ ।गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोरवा गाउँका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झा बेपत्ता थिए ।२ नम्बर प्रदेश प्रहरीका प्रमुख समेत रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले झा दम्पतीको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए ।‘पिपरा गाउँपालिका–२ स्थित पोखरीको डिलमा ५ फिट तल गाडेको अवस्थामा शव फेला पर्यो । खाल्डोमा नून पनि राखिएको पाइयो,’ डीआईजी सिंहले भने ।महोत्तरी प्रहरीले घटनामा संलग्न भएको आशंकामा स्थानीय रामबाबु यादव र उनका २ छोरा तथा १ भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।