काठमाडौं– पछिल्लो समय कोरोना संक्रमण पुन: बढ्न थालेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले स्वास्थ्य मापदण्ड लागू गर्न कडाइ गर्ने भएका छन ।होली पर्व नजिकिदै गर्दा सार्वजनिक स्थालहरुमा भिडभाड बढ्न सक्ने भएकाले कडाई गर्न लागिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् ।यसअघि काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रशासनको हिजो छुट्टाछुट्टै बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मेला, महोत्सव र भेला नगर्न, बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।निर्देशन अवज्ञा गर्दै स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारवाहीसमेत गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
यस्तै नजिकिदै गरेको होली पर्व घरभित्रै परिवारका सदस्यहरुसँग मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।ललितपुरमा ११ बजेपछि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।सार्वजनिक यातायातका चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अवज्ञा गरेको पाइएकाले यातायात व्यवसायी, मजदुरलाई बोलाएर आज सचेत गराइने पनि काठमाडौं प्रशासनले जनाएको छ ।अहिले तत्काल सचेतनामुलक कार्यक्रममा जोड दिइने र पछि अवस्था हेरेर थप निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।
उपत्यकामा आइशोलेन, क्वारेन्टिन बनाउने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो ।भारतसँग सीमा जोडिएका जिल्लाले संक्रमण रोकथामका तयारी थालिएको छ ।तर जनशक्ति अभाव र ठोस योजना नहुँदा तयारी सुस्त छ ।



