
उत्पादन लागत घटाई आम्दानी बढाउन यहाँका अलैँची किसान यान्त्रिकीकरणतर्फ आकर्षित बनेका छन् । जनशक्ति र समयसमेत कम लाग्ने भएपछि किसानले आधुनिक खेती प्रणाली अपनाउन थालेका हुन् ।परम्परागत सीप र प्रविधिको ठाउँमा नयाँ यन्त्र, उपकरणको प्रयोग बढ्दो छ । उन्नत प्रविधि अपनाउँदा कम लागतमा उन्पादन बढाउन सकिने गलकोट अलैँची ब्लक सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताउनुभयो ।कृषि औजार तथा उपकरणमा दिइने सरकारी अनुदानले किसानलाई यान्त्रिकीकरणतर्फ लाग्न प्रोत्साहित गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको अलैँची ब्लक कार्यक्रममा सम्मिलित १२ अलैँची किसानले यही साता ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो (मिनिटिलर) पाएको संयोजक भण्डारीको भनाइ छ ।उहाँका अनुसार कृषि ज्ञान केन्द्र बागलुङले ५० प्रतिशत अनुदानमा अलैँची किसानलाई मिनिटिलर वितरण गरेको हो । रु ५२ हजार पर्ने मिनिटिलर किसानले रु २६ हजारमा पाएका हुन् । अलैँचीका बिरुवा, सिँचाइ, अलैँची सुकाउने भट्टी, त्रिपाललगायतका सामग्री किसानले ८५ प्रतिशतसम्म अनुदानमा पाउँछन् ।
गलकोट नगरपालिका–१ र ४ लाई समेटेर अलैँची ब्लक कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं १ को चौराहा, पात्लेखोला, भण्डारवन, टोड्के, ज्यामिरे, थलिङ, भैँसे र वडा नं २ को चमुवा, खरुवा, नुवाकोटलगायतका ठाउँमा अलैँचीको व्यावसायिक खेती हुँदै आएको छ ।दुवै वडाका गरी २५० किसान अलैँची खेतीमा लागेका छन् । “करिब १० हेक्टर जतिमा अलैँची खेती छ, यो वर्ष १५ क्विन्टल उत्पादन भयो”, संयोजक भण्डारीले भन्नुभयो । उत्पादित अलैँचीमध्ये केही बाहिर निर्यात हुन्छ भने गलकोटमै प्याकेजिङ गरेरसमेत बिक्री गर्ने गरिएको छ । प्रतिकिलो रु ६०० मा अलैँची बिक्री हुन्छ ।विसं २०५४ देखि गलकोटमा अलैँची खेती शुरु भए पनि समूहगतरूपमा विसं २०७२ देखि खेती गर्न थालिएको हो । शुरुका तीन वर्ष पकेट र त्यसपछि ब्लक कार्यक्रम सञ्चालन भइरहेको छ । गलकोटसहित ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकालाई समेटेर अलैँची जोन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव अघि बढाइएको छ ।