
उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्थानीय तहले अब उत्पादन र रोजगारी प्रदान गर्ने काममा योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको ४० औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले स्रोतै स्रोतको सम्भावना भएको मुलुक भएकाले अब स्थानीय सरकारले रोजगारी सिर्जनाका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “रोजगारी सिर्जना नगर्ने हो भने देशको जनशक्ति खेर जाने भएका कारण समृद्ध मुलुकको सपना पूरा गर्नका लागि पनि अब आउने दिनमा नगरका जनतालाई रोजगारी सिर्जना गर्न र उत्पादनमा जोड दिन कसरी, के के कुरा गर्न सकिन्छ, त्यसतर्फ केन्द्रित भएर योजना बनाउन सक्नुपर्दछ ।”
उपप्रधानमन्त्री पोखरेलले रोजगारी सिर्जना गर्न सकेमा नगरपालिका आत्मनिर्भरतातर्फ अगाडि बढ्न सकिने र यसले ‘समृद्ध नेपाल र सुखि नेपाली’ बनाउने वातावरणसमेत सिर्जना हुने बताए । उनले बनेपा शहरलाई व्यवस्थित गर्नका लागि स्थानीय सरकारले गर्न नसकेका ठूला आयोजनाका लागि छिट्टै योजना बनाएर सङ्घीय सरकारसमक्ष पेश गर्न नगरपालिकालाई आग्रह गरे ।“नगरपालिकाको विकास र समृद्धिका लागि स्थानीय र प्रदेश सरकारले गरेका विकास आयोजनाको कामबाहेक अरु योजनाको प्रस्ताव सङ्घीय सरकारसमक्ष पेश गर्नुस्, त्यसलाई पूरा गर्ने जिम्मा म लिन्छु”, उनले भने, “दुखेसो पोख्ने मात्रै काम भए त्यो सम्भव हुँदैन, तर सङ्घीय सरकारसमक्ष व्यवस्थित ढङ्गले आएका योजनालाई यस पटकको नीति, कार्यक्रम तथा बजेटमा पार्ने जिम्मा मेरो हो । त्यसको लागि बनेपा, धुलिखेल र पनौतीले एकीकृत ढङ्गले व्यवस्थित योजना बनाउन आवश्यक छ ।”