अमेरिकाका राष्ट्रपति जो बाइडन एयर फोर्स वान विमानको भर्याङ चढ्दै गर्दा बुधवार झण्डै चिप्लिएका छन् ।
पेन्सिल्भेनियाको पिट्सबर्गमा दुई खर्ब डलरको भौतिक संरचना योजना सार्वजनिक गर्नका लागि उनी वाशिङटनबाट विमानमा चढेका थिए ।
बेस्सरी पानी परिरहेको बेलामा छाता ओढेर उनी भर्याङ चढेका थिए । एउटा खुड्किलोमा उनी लडुँला झैं गरे पनि माथि पुगे अनि हात हल्लाए ।
दुई साताअघि उनी एयर फोर्स वानमा चढ्दै गर्दा तीनपटक लडेका थिए । त्यतिखेर जसोतसो माथि पुगेर उनले हात हल्लाएका थिए ।
बाइडनले संरचना निर्माणका लागि ल्याएको विशाल लगानी प्याकेजमा कर्पोरेट क्षेत्रको करवृद्धि गर्ने र त्यसले व्यापारलाई हानि गर्ने आलोचकहरूले बताएका छन् ।
पूर्व राष्ट्रपति ट्रम्पले बाइडनको प्रस्ताव बकवास तथा अमेरिकी सपनामाथिको क्रूर र निर्मम आक्रमण भएको बताए ।
बाइडनले पिट्सबर्गमा गएर संरचना योजना सार्वजनिक गर्नुको आफ्नै आर्थिक तथा राजनीतिक महत्त्व छ ।
उनले पिट्सबर्ग तथा वरपरको काउन्टीमा विजय हासिल गरेर पेन्सिल्भेनिया राज्य जितेका थिए र राष्ट्रपति पदमा विजयको ढोका खोलेका थिए । आफ्नो निर्वाचन अभियान नै उनले त्यहाँबाट शुरू गरेका थिए ।
बाइडनको योजनाले कर्पोरेट कर ७ प्रतिशत बढाउनेछ ।



