विराटनगर विमानस्थलको क्षमता विस्तार गर्न १२६ विगाह निजी जग्गा अधिग्रहण गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो।अधिग्रहण गरिने क्षेत्रमा जग्गा रहेका जग्गा धनीलाई मुआव्जाको दाबी गर्न आज सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र सुनसरीले सार्वजनिक सूचना जारी गरेका छन्। यो जग्गा अधिग्रहणका लागि कम्तिमा १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। मुआब्जाको दाबी आएपछि यसको वास्तविक आँकडा आउने विराटनगर नागरिक उड्डयन कार्यालयले जानकारी दिए विमानस्थलको क्षमता विस्तार गरी क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न मिल्ने बनाउनका लागि प्राधिकरणले स्थानीय तह तथा प्रदेश सरकारसँगको साझेदारीमा यो परियोजना अघि बढाउन खोजेको छ।
विस २०१५ सालमा निर्माण भएको यो विमानस्थलको हालको क्षेत्रफल १२० विगाह रहेको छ। १५ सय मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा हाल एटिआर–७२, बम्मार्डियरको क्यू ४०० सिरिजका जहाज अवतरण हुन्छन्।आन्तरिक विमानस्थलमा व्यस्तमध्येको उक्त विमानस्थलको क्षमता विस्तार गरी क्षेत्रीय उडान गर्न प्राधिकरणले यो आयोजना अघि बढाएको हो।क्षमता विस्तारपछि एयरबसको ए ३१९ सिरिजको जहाज अवतरण गर्नसक्ने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए। विमानस्थलमा २५ सय मिटरको धावनमार्ग निर्माण हुने छ भने नयाँ टर्मिनल भवन, पार्किङ–वे निर्माण हुने छन्। जग्गा बाहेक विमानस्थलको क्षमता विस्तारमा १३ अर्ब लगानी आवश्यक पर्ने गुरुयोजनामा उल्लेख छ।



