भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, बास्तोला गाउँ घर भइ विगत ५ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका एक युवकको सडक दुर्घटनामा मृत्यु भएको छ । सपरिवार अमेरिका बसोबास गर्दै आएका २४ वर्षका सुविन बास्तोला सवार कार यही चैत १२ गते सडक दुर्घटनामा परेको थियो ।कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठक्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान (नेपाली समय अनुसार) सुुविनको निधन भएको काका सुरज बसतोलाले बताए ।ओहायोमा भएको कार दुर्घटनामा घाइते बास्तोलाको आईसीयु राखेर उपचार गर्ने क्रममा निधन भएको हो ।भक्तपुर तेलकोटको बास्तोला गाउँ स्थायी घर भएका बास्तोला हालैमात्र बोष्टनबाट ओहायोको ब्ल्याकलिकमा बसाई सरेका थिए । ओहायो स्टेट युनिभर्सिटीमा सुरक्षा र खुफिया विषयमा अध्ययनरत उनी आगामी डिसेम्बरमा दिक्षित हुदै थिए । अमेरिकामा बास्तोलाका आमा, बा, बहिनी रहेका छन् । २०७२ साल असारमा उनी नेपालबाट अमेरिका गएका थिए ।




