असार १४ मा हुने स्थानीय तह निर्वाचनको झापामा सम्पूर्ण तयारी पुरा भएको छ । झापाका सबै १५ वटा तहमा कर्मचारी ब्यवस्थापन लगायतका काम पुरा भएको र मतदान केन्द्र ब्यवस्थापनका लागि सम्बन्धीत मतदान अधिकृतहरु समेत खटेर जाने काम भईरहेको झापाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले झापा टाईम्ससंगको कुराकानीमा बताउनु भयो ।

मुख्य निर्वाचन अधिकृत पाण्डेका अनुसार झापाका २८३ मतदान स्थलका ६३७ मतदान केन्द्रका लागि कर्मचारी ब्यवस्थापनको काम चलिरहेको छ । ८ र ९ गते निर्वाचनमा खटिएर जाने कर्मचारीलाई नियुुक्ती पत्र दिने र ९ र १० असारमा मतदानका सामाग्री सम्बन्धीत मतदान अधिकृतलाई जिम्मा लगाउने कार्यक्रम तय गरिएको मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्वाचनका लागि झापामा मात्र ३८१२ जना कर्मचारी आवश्यकता हुने भए पनि कार्यालय सहयोगीको संख्या आवश्यक भन्दा कम रहेकाले स्थानीय स्तरमा नै स्वयम सेवक परिचालन गर्ने गरी ब्यवस्थापन गरिएको पाण्डेले बताउनु भयो । हाल ३ हजार ६ सय भन्दा बढी कर्मचारी परिचालन भईसकेको पाण्डेले झापा टाईम्सलाई बताउनु भयो ।

५ लाख १० हजार २१६ मतदाता रहेको झापाका ४८ वटा मतदान केन्द्र संवेदनशील केन्द्रका रुपमा पहिचान गरिएको र त्यही अनुसार सुरक्षा ब्यवस्था मिलाईएको सुरक्षा निकायले जानकारी गराएको छ ।(झापाटाइम्स)