वासिङ्टन, १४ वैशाख । अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोना भाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ । ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्ने छ । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भए पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन ।
आलोचनाका माझ निर्णय
अमेरिकाले खोप थुपारेको आलोचनाका माझ सो निर्णय भएको छ । जबकी राष्ट्रपति बाइडनका प्रमुख मेडिकल सल्लाहकारले अमेरिकाले आस्ट्राजेनेका खोप प्रयोग गर्ने निश्चित भएको बताएका थिए । छिमेकी क्यानडा र मेक्सिको तथा अन्य दर्जनौँ देशहरूले अमेरिकी आपूर्तिमा पहुँचको अनुरोध गरिरहेका छन् । गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने वाचा गरेका थिए । ती दुवै देशले आस्ट्राजेनेकाको प्रयोगलाई अनुमति दिएका छन् ।
अमेरिकामा कति आस्ट्राजेनेका खोप छ ?
एफडीएले अनुमति नदिएपनि अमेरिकामा उक्त खोपको स्टक रहेको छ । सोमबार ह्वाइट हाउसले आगामी साताहरूमा एफडीएले सो खोपलाई अनुमति दिनासाथ करिब १ करोड मात्रा उसले बाँड्न सक्ने बताएको छ ।
साथै थप ५ करोड मात्राको खोप उत्पादनका विभिन्न चरणमा रहेको बताइएको छ । प्रेस सम्मेलनमा ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडीएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने बताइन् । ‘हाम्रो टोलीले हाम्रा योजना तथा कसले खोप पाउनेछन् भन्नेबारे थप विवरण पछि बताउने छ । अहिले हामी योजनाकै चरणमा छौं,’ उनले भनिन् ।
यसबीच अमेरिकाले भारतीय खोप निर्माताहरूलाई तत्काल कच्चा पदार्थ उपलब्ध गराउने निर्णय पनि गरेको छ । सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन कुराकानीमा राष्ट्रपति बाइडनले थप आपत्कालीन सहयोगको वाचा गरेको ह्वाइट हाउसले बताएको छ । त्यस्तो सहयोगमा अक्सिजनसम्बन्धी आपूर्ति, खोप सामग्री तथा औषधि रहेका छन् ।
अमेरिकाको खोप कूटनीति अवसर
बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्कर भन्छन् महामारी व्यवस्थापनका सिलसिलामा अमेरिकाले प्रशस्तै कमजोरीहरू प्रदर्शन गर्यो । तर खोप उत्पादन भने तिनमा थिएनन् । हाल बाइडन प्रशासनसँग प्रशस्त खोप स्टक रहेको छ र अब ऊ ती खोपमध्ये केही अन्य देशलाई बाँड्दैछ ।
करिब ६ करोड मात्राको आस्ट्राजेनेका खोपको निर्यातसम्बन्धी अमेरिकी निर्णय त्यतिखेर आएको छ जतिखेर उसका छिमेकीहरू क्यानडा र मेक्सिको सङ्घर्षरत छन् भने भारत गम्भीर कोभिड सङ्कटमा परेको छ । ‘यसले बाइडन प्रशासनलाई खोप कूटनीतिको प्रयोग गर्ने अवसर दिएको छ । खोप निर्यात गरेर उसले अरू देशलाई पनि त्यसै गर्न प्रोत्साहन गर्नसक्छ अनि अमेरिकाका अन्य विदेशनीति प्राथमिकतालाई अघि सार्नसक्छ,’ जर्कर भन्छन् ।
कम्तीमा यसो गर्दा बाइडन प्रशासनमाथि लाग्दै आएको खोप थुपारेको आलोचना मत्थर हुने उनले बताए । हाल उक्त निर्णय कार्यान्वयनमा बाइडनका सामु खासै घरेलु चुनौती नभएको पनि उनले बताए ।बाइडन प्रशासनले जुलाईसम्म सबै अमेरिकीलाई खोप दिलाउने योजनाअनुसार काम भइरहेको बताइएको छ । बीबीसीबाट



