भारतमा कोरोना संक्रमणबाट १०७ पत्रकारले ज्यान गुमाएका छन्।

स्विजरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पीईसी)ले प्रकाशित गरेको प्रतिवेदनमा यसै हप्ता ४५ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १०७ पुगेको उल्लेख गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रतिवेदन अनुसार यो संख्या विश्वकै तेस्रो हो। ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएका छन्।

प्रतिवेदनका अनुसार मार्च २०२० पछि ७६ देशका ११८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका थिए।

मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७ पत्रकारले ज्यान गुमाएका छन्।

यस्तै, इक्वेडरमा ४६, बेलायतमा २८, डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुयलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन्।

पानामामा १६, स्पेनमा १५, र युक्रेनमा १४ पत्रकारको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिवेदनमा उल्लेख छ। पीईसीका महासचिव ब्लेसे लेम्पेनले पत्रकारको सुरक्षा अझ भयावह हुनसक्ने बताएका छन्।

उनले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका पत्रकारको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्। यस्तै, चिकित्सक, नर्स, सरसफाइकर्मीलगायत 'फ्रन्टलाइन'मा खटिएकालाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइएको जस्तै पत्रकारहरुलाई पनि उतिकै महत्व दिन उनले आग्रह गरेका छन्।

‘भारतमा कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारको संख्या वास्तवमै बढी रहेको छ, थुप्रै स्थापित मिडियाहरूले आफ्ना पत्रकारको बारेमा जानकारी लुकाएका छन्,’ पीईसीका भारतका प्रतिनिधि नावा ठाकुरियनले भने।

-नेपाललाइभ बाट