भारतको राजधानी नयाँ दिल्लीमा एक जना डाक्टरले आत्महत्या गरेका छन्।

दिल्लीको साकेतस्थित म्याक्स अस्पतालको कोरोना वार्डमा खटिएका ३५ वर्षीय डाक्टर विवेक रायले आत्महत्या गरेका हुन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएपछि विवेक निकै तनावमा रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिल्ली प्रहरीले विवेकलाई साडीको सहायताले पंखामा झुन्डिएको अवस्थामा फेला पारेको थियो। प्रहरीले रायको कोठामा सुसाइड नोट पनि फेला पारेको छ। नोटमा उनले आफूखुसी आत्महत्या गरेको उल्लेख गर्नुका साथै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन्।

डा. राय पछिल्लो एक महिनादेखि कोभिड वार्डमा काम गरिरहेका थिए। भारतीय मेडिकल एसोसिएसनका पूर्व निर्देशक डा. रवी वानखेडकरले विवेक सक्षम डाक्टर भएको र उनले महामारीको समयमा सयौंको ज्यान बचाएको बताएका छन्।

‘कोरोेनाका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि विवेक डिप्रेसनमा गएका थिए। महामारीबाट आजित भएका उनले जीवन समाप्त पार्ने निर्णय गरे,’ डा. वानखेडकरले भनेका छन्। यो घटनाले स्वास्थ्यकर्मीमा थप निराशा बढेको भन्दै उनले भारतमा खराब विज्ञान, खराब राजनीति र खराब शासन भएको टिप्पणी गरेका छन्।

भारतमा केही सातायता कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। शनिबारमात्रै त्यहाँ ३ हजार ६८९ जनाको ज्यान गएको छ भने ३ लाख ९२ हजार ४८८ जना संक्रमित थपिएका छन्।