सादगीपूर्ण जीवनशैली तथा संघर्ष गर्न नडराउने स्वभाव भएकी ममता बनर्जी तेस्रोपटक पश्चिम बंगालमा कार्यकाल चलाउने स्थितिमा पुगेकी छन् । पश्चिम बंगाल लगभग ३४ वर्षसम्म वामपन्थीहरूको गढ थियो । तर ममताले वामपन्थीहरूसँग सडकमा निर्भीक तरिकाले भिडेर सन् २०११ मा तृणमूल कांग्रेसलाई पहिलोपटक विजयी बनाइन् ।

राजनीति कांग्रेसबाट शुरू गरेकी ममताले सन् १९९८ मा तृणमूल कांग्रेस बनाइन् र बंगालको राजनीतिमा बेग्लै पहिचान बनाउन थालिन् ।

ममताको जन्म सन् १९५५ को जनवरी ५ मा भएको हो । उनी जन्मेको केही वर्षपछि नै उनका पिता प्रोमिलेश्वर बनर्जीको निधन भएको थियो । आमा गायत्री बनर्जीले ममतासहित पाँच सन्तानलाई अनेकौं दुःखकष्ट सहेर पालनपोषण गरिन् ।

घरमा सधैं गरीबीको समस्या थियो । ममताले आमालाई सानैदेखि सघाउन थालिन् ।

उनी सानैदेखि राजनीति र पढाइ दुवैमा रुचि राख्थिन् । उनले कोलकाताको जोगमाया देवी कलेजबाट इतिहासमा अनर्स डिग्री हासिल गरेकी थिइन् । पछि कोलकाता विश्वविद्यालयबाट उनले इस्लामिक इतिहासमा स्नातकोत्तर गरिन् । उनले बीएड पनि गरिन् तथा कानून पनि अध्ययन गरिन् ।

ममता सामान्य सूतीको सारी र रबरको हवाई चप्पल लगाउँछिन् । कहिले पनि उनले तडकभडक गरिनन् ।

ममता चित्रकार र कवि पनि हुन् । सन् २००० मा तत्कालीन प्रधानमन्त्री अटलविहारी वाजपेयी ममताको घर जाँदा ममताको चित्रकला देखेर छक्क परेका थिए ।

कलेजमै ममताले कांग्रेसको सदस्यता प्राप्त गरी राजनीतिमा प्रवेश गरेकी थिइन् । सन् १९७६ देखि १९८० सम्म उनी बंगाल महिला कांग्रेस र युवा कांग्रेसको सचिव बनिन् ।

सन् १९८४ मा उनले दिग्गज वामपन्थी नेता सोमनाथ चटर्जीलाई हराएर राष्ट्रिय राजनीतिमा प्रवेश गरिन् । सन् १९८९ मा कांग्रेसले सबैतिर हार बेहोरेको थियो र ममता पनि हारिन् ।

तर सन् १९९१ मा उनी कोलकाताको निर्वाचन क्षेत्रबाट उठिन् र जितिन् । त्यसपछि भएका सबै चुनावमा सन् २००९ सम्म उनले लोकसभा चुनाव जितेकी हुन् ।

सन् २०११ मा तृणमूल कांग्रेसले लामो समयदेखि सत्तामा रहेको वामपन्थीलाई हरायो । त्यसपछि केन्द्र सरकारमा रेलमन्त्री रहेकी ममता बनर्जीले पदबाट राजीनामा दिइन् । पश्चिम बंगालको मुख्यमन्त्री बनेर उनी शासन चलाउन थालिन् ।

अल्पसंख्यकहरूलाई विभिन्न अधिकार दिने तथा कन्याहरूका लागि कल्याणका विभिन्न योजना बनाउने ममतालाई जनताले पुनः सत्तामा पुर्‍याएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय