कृष्णनगर (कपिलवस्तु), ११ असार – केन्द्रमा चुनावको विरोध गरेपनि पाँच नम्बर प्रदेश अन्तर्गत तराईका जिल्लामा मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) को गतिविधि शून्य देखिएको छ । kapilbastu election (5)
रुपन्देहीका दक्षिणी भेगमा केहीले स्वतन्त्र उम्मेदवारी दिएपनि कपिलवस्तुको दक्षिणी भेगमा चुनावको समयमा उनीहरुका क्रियाकलाप शिथिल छन् ।
राजपाले चुनावमा अवरोध गर्ने बताएपनि चुनावी कार्यक्रममा उनीहरुको अवरोध देखिदैन ।
संघीय समाजवादी फोरम नेपालका महासचिव समेत रहेका सांसद अभिषेक प्रताप शाहले चुनावको विरोध गर्नेहरु अहिले दुलो पसेको बताए ।
‘यहाँ चुनावको अवरोध गर्ने हैसियत कसैको छैन । अबरोध गरे उल्टै कारवाहीमा पर्ने अबस्था छ’ सांसद शाहले शनिवार कृष्णनगरमा आयोजित एक सभापछि लाोकान्तरसँग भने, ‘चुनाव भाँड्ने समूहको भागाभाग छ । उनीहरु मुख देखाउन नसक्ने अबस्थामा छन् । चुनावप्रेमी यहाँका जनताले त्यस्तालाई दुलोमा पसाइसके ।’kapilbastu election (2)
केही दिनअघि चुनाव भाँड्ने भनेर एउटा समुहले रातीदेखि प्रचार गर्यो । त्यो सुनेपछि स्थानीयवासी चनाखो वने । चुनाव भाँड्ने समुहलाई गाउँ कटाउने योजना वनाए । तर त्यो समुह दिउँसो हल्ला गरेजस्तो कतै पनि नदेखिएको फोरमका नेताले बताए । चुनाव भाँड्न खोज्नेलाई जनताले लखेट्ने, गाउँमा पस्न नदिने रणनीति बनाएपछि त्यस्तो समूहको भागाभाग भएको स्थानीयहरुको भनाई छ ।
गत संविधानसभा निर्वाचनमा फोरमले चुनाव जितेको कृष्णनगर नगरपालिका क्षेत्रमा सांसद शाहका काका अभय प्रताप शाह फोरमका तर्फबाट मेयरका उम्मेदवार छन् ।
चुनाव प्रचारको अन्तिम दिन आइतवार फोरम अध्यक्ष उपेन्द्र यादवले कपिलबस्तुको बहादुरगञ्जमा चुनावी सभालाई सम्वोधन गर्ने कार्यक्रम छ ।
जनतामा चुनावको अत्यन्तै उत्साह देखिएको सांसद शाहले बताए ।
‘आफै सांसद हारेका केही नेताले विरोध गर्दैमा चुनाव रोकिदैन । जो आफैँ चुनाव हारेका छन्, उनीहरुले मधेशको ठेक्का लिन कसरी सक्छन् ?’ काकाको प्रचारमा सक्रिय अभिषेकले भने ।
हजुरवुबाको योजना लागू गराउने लक्ष
भारतको बढौंनी नाकासँगै जोडिएको कृष्णनगरलाई तराईको आधुनिक शहर बनाउने फोरम उम्मेदवार शाहको चुनावी एजेण्डा छ ।
अभयका हजुरवुवा राणाकालीन मन्त्री गयाप्रसाद शाहले कृष्णनगरको विकास योजना बनाएका थिए ।
‘कृष्णनगरलाई आधुनिक शहर बनाउने मेरो योजना छ । स्तरीय अस्पताल लगायत नगरपालिकामा आबश्यक भौतिक संरचना खडा गर्छु’ पूर्व गाविस अध्यक्ष समेत रहेका अभयले लोकान्तरसँग भने, ‘तपार्इँ सपना देख्नुस्, म पूरा गर्छु भनेर जनतालाई भनेको छु ।’
कृष्णनगर बहादुरगञ्ज क्षेत्रमा शाह परिवारको पूरानो राजनीतिक ‘लिगेसी’ छ ।
पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ कान्छो उम्मेदवार (त्यतिवेला जम्मा २५ वर्ष) रहेका अभिषेकले दोस्रो संविधान सभामा पनि प्रत्यक्ष तर्फ चुनाव जितेका थिए ।
अभिषेकका बुवा अजय प्रताप शाह पनि राप्रपाका सांसद थिए । अजयको निधनपछि अभिषेक राजनीतिमा सक्रिय भएका हुन् ।
काका उम्मेदवार भएपनि कृष्णनगरका मतदाताहरु अभिषेकलाई नेता मान्छन् । चुनाव प्रचारको पोष्टरमा एकातर्फ काका अभय र अर्कोतर्फ अभिषेकको फोटो देखिन्छ ।
शनिवार अपरान्ह नेपाल भारत सीमा नजिकै रहेको अभिषेकको घरमा झण्डै २ सय कार्यकर्ता र सुभेच्क्षुकको उपस्थिति थियो ।
‘कार्यकर्ता, सुभेच्क्षुक र मतदाता खेतको काम छाडेर पनि चुनाव प्रचार प्रसारमा हिँडेका छन् । जनताले भोट हाल्ने दिन कहिले आउला भनेर कुरेका छन्’, सांसद साहले थपे ।
फोरमको प्रतिष्पर्धा काग्रेससँग
कृष्णनगर नगरपालिकामा संघीय समाजवादी फोरमको प्रतिष्पर्धा नेपाली काँग्रेससँग हुने देखिएको छ । कृष्णनगरको मेयरका लागि कांग्रेसका तर्फबाट वर्मानन्द उपाध्याय, नेकपा एमालेका तर्फवाट सुशील श्रीवास्तव र माओवादी केन्द्रका तर्फवाट श्रीप्रसाद जयसवाल प्रत्यासी छन् ।
फोरम नेपालले कृष्णनगरमा आफैले चुनाव जित्ने दावी गरेको छ । कांग्रेस र माओवादी केन्द्रले पनि चुनाव जित्ने दावी गरेका छन् । काग्रेस उम्मेदवार उपाध्याय र माओवादीका जयसवालले पनि आफूहरुको स्थिती बलियो रहेको दाबी गरे ।
‘कृष्णनगरका जनताले विकास चाहेका छन् । त्यसको विकल्प भनेको वर्मानन्दको नेतृत्व हो’ चुनाव प्रचारमा हिंडेका कांग्रेसका एक कार्यकर्ताले बताए ।
मेयर र वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तीब्र बनाएका छन् । रुपन्देही र नवलपरासी जस्तै कपिलवस्तुको सीमावर्ती कृष्णनगरमा चुनावी प्रचारमा गुडेका प्राय गाडीमा कुनै न कुनै दलको चुनावी झण्डा देखिन्छ । चुनाव प्रचारका लागि प्रयोग गरिएका करिव ९० प्रतिसत गाडी र मोटरसाइकल भारतीय नम्बर प्लेटका छन् ।
कांग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित दल र राष्ट्रियताको चर्का कुरा गर्ने राप्रपाले समेत चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग गरेको भेटिएको छ ।
लोकान्तर



