चार दिनदेखि सुत्केरी बेथाले छट्पटाइरहेकी पाण्डवगुफा गाउँपालिका– ३ की ४१ वर्षीया फुलटुक्का ढोलीलाई आज उपचारका लागि हेलिकप्टरद्वारा नेपालगन्ज पु¥याइएको छ ।

राससबाट समाचार प्रसारित भएपछि ढोलीलाई हेलिकप्टरमार्फत नेपालगन्ज पु¥याइएको हो । सदरमुकाम मार्तडीदेखि दुई दिनको पैदल दुरीमापर्ने पाण्डवगुफाकी ढोली सुत्केरी हुन नसकेर छट्पटाइरहेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ज्यान जोखिममा रहेको खबर थाहा पाएपछि जिल्ला स्वास्थ्य कार्यालयको पहलमा उहाँलाई सिम्रिक एयरको हेलिकप्टर गाउँमै अवतरण गराई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

ढोलीलाई बिहीबार सुत्केरी बेथा सुरु भएको थियो । एक दिन घरमै पर्खदा सुत्केरी हुननसकेपछि उनका श्रीमान् जयलालले अर्को दिन हुनी स्वास्थ्य चौकी पु¥याएका थिए ।

स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले ढोलीलाई प्रसूति गराउन नसकेर अन्यत्र लैजान सिफारिस गरेका थिए । तर अन्यत्र लैजान उनको आर्थिक अवस्था कमजोर भएका कारण गर्भवती ढोली चार दिनदेखि गाउँमै थन्किएकी थिइन् । उनको यो छैटौँ गर्भ भएको डा विश्वकर्माले बताए ।

“हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले रु चार लाख ५० हजार सहयोग गर्ने आश्वासन दिएपछि ढोलीको उद्वार सम्भव भएको हो,” जिल्ला स्वास्थ्य कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईंले भने । रासस