सत्तारुढ नेकपा (एमाले) वाग्मती प्रदेशबाट राष्ट्रिय सभाको रिक्त सिटका लागि हुन लागेको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय लिएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
स्थायी कमिटी निर्णयलगत्तै गृहमन्त्री थापा उम्मेदवारी दर्ताका लागि बागमति प्रदेशको राजधानी हेटौंडा जानुभएको छ । उहाँको साथमा एमाले नेता अग्नि खरेल, प्रधानमन्त्रीका कानुनविज्ञ बाबुराम दाहाल पनि हेटौडा जानुभएको छ । गृहमन्त्री थापाको टोली हेलिकोप्टरमा हेटौंडा गएको हो ।
कांग्रेस, माओवादीसहित एमालेको माधवकुमार नेपाल पक्ष तथा जसपाको उपेन्द्र यादव पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।माओवादीबाट निर्वाचित थापा एमाले प्रवेश गरेपछि वाग्मती प्रदेशको राष्ट्रिय सभाको सिट रिक्त भएको थियो । उक्त सिटमा जेठ ६ गते मतदान हुँदै छ ।



