प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण र सुधारको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभाको विश्वासको मत लिने सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नयाँ नयाँ बाटाहरु बनाउने सन्दर्भमा, मुलुकलाई सरुङ्ग मार्गको युगमा प्रवेश गराउने सन्दर्भमा होस् या अन्य थुप्रै प्रकारका सुधारका क्रममा सरकार निरन्तर लागि परेको उनको भनाइ छ ।

पछिल्लो समय सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको जिकिर गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो सन्दर्भमा पछिल्लो समय सरकारले घरमै बसेर आफ्नो भूमिको मापन गर्ने मेरो कित्ता जस्तो सफ्टवेयरको सवालमा होस् या माटो, मल, लगायतको परीक्षणको सवालमा सरकारले सहज डिजिटल प्रयोगको सुरुवात गरेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ सरकार डिजिटल प्रविधिमा अघि बढिसकेका छ । अहिले हामी मोबाइलबाटै मेरो कित्ता एप्समार्फत जग्गाको कित्ताकाट, निरीक्षण गर्न सक्ने भएका छौं । नागरिक एप सञ्चालनमा आएको छ,’ प्रधानमन्त्रीले भने, ‘त्यति मात्र होइन हामीले भर्खरमात्र काठमाडौँमा दैनिक १७ करोड पानी ल्याएका छौँ । काठमाडौं बासीले अहिले सहज रुपमा मेलम्चीको पानी खान, प्रयोग गर्न पाएका छन् । अझ हामी थप मेलम्ची र याङ्री गरी थप अरु १७/१७ करोड लिटर पानी ल्याइँदैछ । यसरी अब दैनिक ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ । धरहरा ठडिएको छ । अन्य विकास निर्माणका कामहरु तिब्र रुपमा भएका छन् ।’

प्रधानमन्त्रीले पुनः दोहो¥याए, ‘पहिले वर्षमा लगभग १० किलो मिटर बाटो बन्ने गरेकोमा अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण र कालोपत्र गरिरहेको छ । १२ वटा नयाँ स्मार्ट सिटी बन्दै गरेको छ, के यी सब सरकारको उपलब्धीपूर्ण कामहरु होइनन् र ?’

त्यस्तै, प्रधानमन्त्री ओलीले सभामा उद्योगहरुलाई संरक्षित गर्दै लैजाने, वैदेशिक व्यापार घाटालाई सरकारले पछिल्लो समय सन्तुलन गर्दै लगेको र सामाजिक विकास पूर्वाधारका कुराहरुमा तिब्र सुधारको क्रममा रहेको जानकारी दिए ।

सो अवसरमा उनले पछिल्लो समय कृषिमा समेत तीव्र सुधार भएको दाबी प्रस्तुत गरे । पछिल्लो समय धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अन्यमा समेत सालाखाला ६ प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए । यता माच्छा मासु तथा दूधमा त नेपाल आत्मनिर्भर नै भइसकेको उनले दाबी प्रस्तुत गरे ।