म्यान्मारको सेनाको नजरबन्दमा रहेकी नेसनल लिग फर डेमोक्रेसीकी नेता आङ सान सुकी पहिलो पटक अदालतमा देखा परेकी छन्। गत फेब्रुअरीमा सेनाले म्यानमारमा 'कू' गरेपछि सुकीलाई नियन्त्रणमा लिएको थियो।१६ हप्तापछि सोमबार उनी म्यानमारको राजधानीस्थित अदालतमा देखा परेको बिबिसीले जनाएको छ।

उनीविरूद्ध राज्यका गोपनीयता कानून उल्लंघनलगायत मुद्दा परेको थियो। त्यसैको पेशी आज तोकिएको थियो। उक्त मुद्दा तोकेको पेशीको सुनुवाइ केहीबेरमै स्थगित भएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुनुवाइमा जानुअघि नेता सुकीले आफ्ना वकिलहरूलाई पहिलो पटक भेट्न पाएकी थिइन्।

म्यानमारको सेनाले सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीलाई गत नोभेम्बरमा भएको चुनावमा जालसाझी गरेर जितेको आरोप लगाएको छ।

निर्वाचनका निरीक्षकहरूले भने चुनाव स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए।

म्यानमारको सेनाले 'कू' गरेयता लोकतन्त्रका समर्थकहरूले गरेको प्रदर्शनमाथि क्रूरताले नियन्त्रणमा लिने प्रयास गरेको छ। त्यसक्रममा भीडन्त हुँदा अहिलेसम्म आठ सय बढी मारिएका छन्। त्यस्तै, चार हजार जनालाई नियन्त्रणमा लिइएको छ।

७५ वर्षीय आङ सान सुकीविरूद्ध ६ वटा मुद्दा छन्। उनले अवैध तरिकाले हातमा बोक्ने रेडियोको आपूर्ति गरेको आरोप लगाइएको छ भने कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न लगाइएका नियम तोडेको आरोप छ।

सुकीलाई आफ्नो वकिलसँग ३० मिनेट कुराकानी गर्न दिइएको थियो।

वकिलहरूका अनुसार उनी स्वस्थ अवस्थामै उपस्थित भएकी थिइन्। सुकीका वकिलका अनुसार उनले जनताको राम्रो स्वास्थ्यको कामना समेत गरेकी थिइन्।