बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमन्ड्ससँग गोप्य रूपमा शनिवार विवाह गरेका छन् ।
उनले वेस्टमिन्स्टर क्याथेड्रलमा आफूभन्दा २३ वर्ष कान्छी साइमन्ड्ससँग विवाह गरेका हुन् ।
यस गोप्य विवाहका विषयमा सञ्चारकर्मीहरूले विभिन्न प्रश्न राखेको भए पनि डाउनिङ स्ट्रीट अर्थात् प्रधानमन्त्री कार्यालयका प्रवक्ताले टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
विवाह समारोहमा अन्तिम समयमा मात्र पाहुनालाई आमन्त्रण गरिएको थियो । हुँदाहुँदा प्रधानमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरू समेत विवाह समारोहका विषयमा अनभिज्ञ थिए ।
कोभिड–१९ प्रतिबन्धका कारण बेलायतमा अहिले विवाह समारोहमा ३० जना मात्र सहभागी हुन सक्छन् ।
क्याथोलिक क्याथेड्रलमा दिउँसो डेढ बजे अचानक अरूलाई आउन दिइएन । त्यसको आधा घन्टापछि साइमन्ड्स लामो सेतो पोशाक लगाएर लिमोजिन कारमा चढेर त्यहाँ आइपुगिन् ।
जोनसन र साइमन्ड्स सन् २०१९ मा जोनसन प्रधानमन्त्री बनेदेखि नै सँगै बस्दै आएका छन् । पोहोर साल उनीहरूले टीकाटालो गरेका थिए अनि पोहोर नै उनीहरूको छोरो विल्फ्रेड लरी निकोलास जोनसनको जन्म भएको थियो ।
जोनसन र साइमन्ड्सले सन् २०२२ जुलाईमा विवाह समारोह आयोजना गर्ने भनी साथीभाइ इष्टमित्रलाई निमन्त्रण पठाएका थिए ।
सन् १८२२ पछि बहालवाला प्रधानमन्त्रीले विवाह गरेको पहिलोपटक हो ।
साइमन्ड्सले नै कर गरेकाले निर्धारित समयअगावै जोनसनले गोप्य विवाह गरेको बेलायती ट्याब्लोइड पत्रिकाहरूले लेखेका छन् ।
बोरिस जोनसनले यसअघि पनि दुईपटक विवाह गरिसकेका छन् । दुवैपटक उनको पारपाचुके भइसकेको छ ।



