काठमाडौं । भारतको उत्तर प्रदेश, मध्यप्रदेशजस्तै अव गुजरातमा पनि लभ जिहाद कानून कार्यान्वयनमा आउने भएको छ ।
अब गुजरातमा धर्म लुकाएर विवाह गर्नेहरुमाथि कारबाही हुने भएको छ । उत्तर प्रदेशको जोडबलमा बनेको लभ जिहाद कानून गुजरातमा १५ जुनदेखि लागू हुनेछ ।
गुजरातको विजय रुपाणी सरकारका तर्फबाट तयार गरिएको यो कानुनलाई राज्यपाल आचार्य देवव्रतले स्वीकृति दिएका छन् । अब यो कानुन कार्यान्वयनका लागि कुनै बाधा हुनेछैन ।
१५ जुनपछि गुजरातमा कुनै पनि व्यक्ति प्रलोचन, जबरजस्ती, छलकपट या कुनै प्रकारको हिंसामार्फत धर्म परिवर्तन गर्न सक्ने छैनन् । यदि यस्तो गरेको पाइएमा कडा कारबाही गरिनेछ ।
दोषी पाइए १० वर्ष कैद
हालै जारी भएको लभ जिहाद कानूनअनुसार छलकपट गरी विवाह गर्ने र जबरजस्ती धर्म परिवर्तन गरिए १० वर्ष कैद हुनेछ । यसका साथै आरोपीले जरिवाना पनि तिर्नुपर्नेछ । यदि आरोप संगीन भएमा कैद र जरिवाना दुवै हुने कानूनमा व्यवस्था गरिएको छ ।
कानुनअनुसार धर्म लुकाएर विवाह गर्नेविरुद्ध पाँच वर्ष कैद र तीन लाख २० हजार रुपैयाँ जरीवानाको प्रावधान छ । यदि यस्तो अपराध नाबालिकाको साथमा भयो भने सात वर्ष कैद र चार लाख ८० हजार रुपैयाँ जरिवाना हुने कानूनमा उल्लेख छ ।
गुजरातका गृहराज्यमन्त्री प्रदीप जाडेजाले भने, ‘मानिसहरु निधारमा तिलक लगाएर, हातमा धागो बाँधेर हिन्दु या अन्य धर्मकी युवतीसँग छलकपट गर्दछन् । त्यस्ता व्यक्तिमाथि कडा कारबाही हुनेछ ।’
गुजरातको विधानसभामा यस कानुनलाई लिएर निकै चर्काचर्कीसमेत भएको थियो । कांग्रेसले यसलाई साम्प्रदायिक बताउँदै कडा विरोध गरेको थियो । यता भाजपाले यस कानुनलाई छोरीहरुको हकमा रहेको बताउँदै समर्थन गरेको थियो ।
यसअघि उत्तर प्रदेश र मध्य प्रदेशमा यो कानुन लागू भइसकेको छ । त्यहाँ पनि छलकपट गरेर विवाह गर्ने र जबरजस्ती धर्म परिवर्तन गर्नेलाई १० वर्ष कैद र जरिवानाको व्यवस्था गरिएको छ । एजेन्सीकाे सहयाेगमा



