क्यानडाको ब्रिटिश कोलम्बियामा कीर्तिमान भंग हुने गरी गर्मी भएपछि डढेलोको जोखिम बढेकाले सेना सतर्क अवस्थामा रहेको छ ।
आकस्मिक सेवाका कर्मचारीहरूले १७० भन्दा बढी आगोलाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । धेरैजसो आगो चट्याङका कारण लागिरहेका छन् ।
पश्चिमी इलाका अभूतपूर्व रूपमा गर्मी भएपछि अत्यन्तै सुक्खा भएका छन् ।
यसैबीच आगोका कारण सखाप भएको लीटन गाउँमा कम्तीमा दुईजनाको मृत्यु भएको छ ।
लीटनमा क्यानडाकै सबभन्दा उच्च तापक्रम (४९.६ सेल्सियस) सोमवार दर्ज भएको थियो ।
लगभग ३५० सैनिकका साथै विमानहरू जोखिममा परेका समुदायलाई सहायता गर्नका लागि तयार रहेको क्यानडाका रक्षामन्त्री हरजीत सज्जनले बताए ।
प्रधानमन्त्री जस्टिन ट्रुडोले मन्त्रीहरूका साथै प्रभावित क्षेत्रका आदिवासी नेताहरूसँग आकस्मिक वार्ता गरेपछि यो घोषणा गरिएको हो ।
क्यानडाका विभिन्न भागमा तापक्रम उच्च छ । विश्वव्यापी तापक्रममा वृद्धि भएसँगै लू चल्ने घटनाहरू बढेको बताइएको छ ।



