अन्तराष्ट्रिय

फेसबुकमा रहेका कोभिड सम्बन्धी गलत सूचनाले मानिसको ज्यान लिइरहेको छः बाइडेन


  काठमाडौं   एजेन्सी   २०७८ श्रावण २, १०:४६

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल मार्फत फैलिरहेको कोरोना भाइरस र त्यसविरुद्धको खोप सम्बन्धी गलत सूचना (मिसइन्फरमेशन) ले मानिसहरुको ज्यान लिइरहेको बताएका छन् ।

कोभिड–१९ विरुद्धको खोप लिन मानिसहरुले आनाकानी गरिरहेका बेला सामाजिक सञ्जाल मार्फत फैलिरहेका गलत सूचना कारक रहेको र त्यसको मूल्य मानिसहरुको ज्यानका रुपमा चुकाउनु परेको भन्दै बाइडेनले चेतावनी दिएका हुन् ।

पत्रकारले खोप सम्बन्धी गलत सूचना प्रवाहित गर्नमा फेसबुकसहितका सामाजिक सञ्जालको भूमिकालाई लिएर गरेको प्रश्नको जवाफ दिने क्रममा राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले गलत सूचना नियन्त्रण गर्न वा फैलिन नदिनका लागि सामाजिक सञ्जालहरुमाथि दबाब बढाउँदै लगेको छ ।
फेसबुकले सार्वजनिक स्वास्थ्य सम्बन्धी गलत जानकारी नियन्त्रणका लागि आक्रामक रुपमा काम गरिरहेको दाबी गरेको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बाइडेनले भने, ‘उनीहरु (सामाजिक सञ्जाल मार्फत फैलिरहेका गलत सूचनाले मानिसको ज्यान लिइरहेका छन् । हामीसँग अहिले खोप नलगाएकाहरुमा मात्रै महामारी अवस्था छ ।’

अमेरिकामा पछिल्लो समय फेरि कोरोना भाइरसको संक्रमण तथा त्यसका कारण हुने मृत्यु बढ्दो क्रममा देखिएको छ । आधिकारिक तथ्यांक अनुसार अहिले संक्रमित हुने तथा त्यसका कारण मृत्यु हुनेमा अधिकांश (९९.२ प्रतिशत) खोप नलगाएकाहरु छन् ।

विशेष गरि रिपब्लिकनहरुको बाहुल्यता रहेका राज्यहरुमा खोप नलगाउनेहरु धेरै छन् । खोप राजनीतिक विषय बनाईँदा समस्या भएको विज्ञले बताउँदै आएका छन् ।

राष्ट्रपति बाइडेनको प्रतिक्रियाअघि शुक्रबार ह्वाइट हाउस प्रवक्ता जेन साकीले फेसबुकसहितका सामाजिक सञ्जालहरुले खोप सम्बन्धी गलत सूचना नियन्त्रणका लागि पर्याप्य काम नगरेको बताएकी थिइन् । केही काम भए पनि त्यो पर्याप्त नरहेको उनको भनाई छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार