काठमाडौं – भारतमा कोरोनाको दुवै खोप लगाएपछि प्रदान गरिने प्रमाणपत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो राखिएको छ । कोरोना खोप प्रमाणपत्रमा प्रधानमन्त्रीको फोटो देखेपछि विपक्षी दलहरुले त्यसको विरोध गरेका छन् ।
विपक्षीको विरोधपछि भारतका स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारले खोप लगाइसकेपछि पनि स्वास्थ्य मापदण्डको पालना गर्नुपर्छ भन्ने सम्झाउन प्रधानमन्त्रीको फोटो राखेको प्रतिक्रिया दिएका छन् । विपक्षी दलहरुको सरकार रहेका राज्यहरुले भने प्रमाणपत्रबाट मोदीको फोटो हटाएका छन् ।
यता नेपालमा कोरोना खोपको दुवै डोज लगाउनेको संख्या साढे ७२ लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा ७२ लाख ६३ हजार ७०२ जनाले कोरोनाको पहिला वा दुवै डोज खोप लिइसकेका छन् ।
हालसम्म ४५ लाख ४१ हजार ६८२ जनाले पहिलो डोज खोप मात्र लगाएका छन् भने २७ लाख २२ हजार २०जनाले पहिलो र दोस्रो दुवै डोज खोप लगाइसकेका छन् ।



