क्वालालम्पुर, मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले राजीनामा दिएका छन्। सोमबार उनले राजालाई राजीनामा पत्र बुझाएको समाचार संस्था एपीले जनाएको छ। संसदमा बहुमत गुमाएसँगै उनले राजीनामा दिएका हुन्।

विज्ञान तथा प्रविधि मन्त्री खैरी जमलुद्दिनले इनस्टाग्राममार्फत् राजालाई राजीनामा दिएको घोषणा गरेका थिए। मन्त्रिपरिषद्ले राजालाई राजीनामा दिएको छ, यासिन राजालाई भेटेर दरबारबाट बाहिरिएपछि उनले लेखेका थिए। प्रधानमन्त्री पदमा नियुक्त भएको १८ महिना नबित्दै उनको राजीनामा आएको हो। अब त्यहाँ कसले सरकार बनाउँछ भन्ने खुलिसकेको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गत वर्ष मार्चमा उनी प्रधानमन्त्री बनेका थिए।

२२२ जना सासंद भएको संसदमा उनी झिनो बहुमत पाएर सत्तामा आएका थिए। तर पछिल्ला केही हप्तामा राजीनामा दिन उनलाई दबाब आइरहेको थियो।उनलाई गठबन्धनको सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ) ले राजीनामा दिन दबाब दिएको थियो। पार्टीले यासिनलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।यासिनले संसदमा आफूसँग बहुमत भएको बताउँदै आएका थिए। उनले सेप्टेम्बरमा विश्वासको मत लिएर बहुमत भएको पुष्टि गरी देखाउने बताएका थिए।