बेलायतमा कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेकाहरुमा पनि बिस्तारै भाइरस विरुद्धको सुरक्षा हराउँदै गएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
वास्तविक जीवनमा आधारित रहेर सञ्चालन गरिएको यस रिसर्चमा २०२१ को मे र जुलाई बीच प्राप्त पोजेटिभ कोभिड पीसीआर परीक्षण नतिजा समावेश गरिएको थियो जसमध्ये १० लाख भन्दा बढीले फाइजर या एस्ट्राजेनेका खोपको दुवै डोज लगाइसकेका थिए ।
यस्तोमा ५ देखि ६ महिनाका बीच फाइजरको दुई डोज खोपले दिने सुरक्षा एक महिनामै ८८ प्रतिशतबाट घटेर ७४ प्रतिशत पुगेको पाइएको हो । त्यस्तै एस्ट्राजेनेका खोपले दिलाउने सुरक्षा पनि चारपाँच महिनामा ७७ प्रतिशतबाट ६७ प्रतिशतमा झरेको पत्ता लागेको छ ।
विज्ञहरुका अनुसार यस किसिमले खोपको असर घट्दै जानु अपेक्षित थियो । तर अझै पनि कोभिड खोप, भाइरसका कारण गम्भीर बिरामी हुनबाट र मृत्युबाट जोगाउन अत्यन्तै प्रभावकारी रहेको उनीहरुले बताए ।
जस्तै बेलायतमा मात्र कोभिड विरुद्धको खोप लगाउनुले ८४ हजार बढीलाई मृत्युबाट जोगाएको र झन्डै २ करोड ३० लाख मानिसलाई संक्रमित हुनबाट पनि बचाइएको ‘पब्लिक हेल्थ इङ्ल्यान्ड’ ले बताएको छ ।
अनुसन्धानका मुख्य खोजकर्ता प्रोफेसर टिम स्पेक्टरका अनुसार यो नतिजाले हालैमा खोप लगाइसकेका केही क्षेत्रमा बढ्दो संक्रमणको कारण खुलाएको छ ।



