
झापा । झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने चारजना घाइते भएका छन् । मेचीनगरमा सिटी सफारीको ठक्करबाट सोही नगरपालिका- ७ निवासी ६१ वर्षीय नन्दलाल अधिकारीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार मेचीनगर-६ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६२५९ नम्बरको सफारीले पैदलयात्रीलाई अधिकारीलाई सोमबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई तत्काल उपचारका लागि धुलाबारी अस्पताल लगिएको र उनको उपचारको क्रममा सोमबार राती ८ बजे मृत्यु भएको थियो ।
पैदलयात्रीले अचानक बाटो काट्ने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सिटी सफारी र चालक ३६ वर्षीय गङ्गाराम निरौलालाई नियन्त्रणमा लिएको छ । चालक निरौलासँग सफारीको कागजपत्र र चालकको लाइसेन्स नभएको प्रहरीले जनाएको छ ।
त्यस्तै मङ्गलवार बिहान यात्रु वाहक बसको ठक्करबाट मेचीनगरमा एक जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- ६ स्थित काली खोला छेउ पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र १ ०१ ००१ ख ३४२३ नम्बरको बसले पैदल यात्रीलाई मेचीनगर- ७ निवासी ३९ वर्षीय कृष्ण गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका गुरुङलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
यता ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ, भने चालक फरार भएका छन् । त्यसैगरी पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित माईधार चोकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ६ प २३६२ नम्रको मोटरसाइकलले दक्षिणबाट उत्तर तर्फ बाटो काट्दै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटना परी भारत किशनगञ्ज जिल्ला लक्ष्मीपुर ग्राम पञ्चायत- २ घर भई हाल शिवसताक्षी- १० माइधारमा बस्ने सन्तुहाट मियाको १७ वर्षीय छोरा अहिम प्राइम मिया घाइते भएका छन् । उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-९ निवासी ४६ वर्षीय दिल कुमार खत्री, सोही मोटरसाइकल पछाडि सवार ३३ वर्षीया सुशीला मानन्धर लड्दा उनीहरू पनि घाइते भएका थिए । यता मोटरसाइकल र साइकललाई अस्थायी प्रहरी चौकी माइधारले नियन्त्रणमा लिएको छ ।