सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले भाडा समायोजन लगायत ११ बुँदे माग पुरा नभएको भन्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो ।

आफुहरुको मागका बिषयमा सरोकारवाला निकायमा जानकारी गराउँँदा पनि सम्बोधन नभएको भन्दै आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले बताए । महासंघले भदौ २१ गते बागमति प्रदेश अन्तर्गतको अञ्चल यातायात कार्यालयमा धर्ना दिने र भदौ २२ गते यातायात व्यवस्था बिभागमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

व्यवसायीहरुले सरकारले आफुहरुको माग पुरा नगरे भाद्र २४ गतदेखि सार्वजनिक सवारीमा भाडा समायोजन गरि लागू गर्ने चेतावनी दिएका छन् । अध्यक्ष खनालले कोरोनाले असर गरेको अवधिभरको व्याज मिनाहा र किस्ताको म्याद कम्तीमा दुई बर्ष थप गर्नुपर्ने बताए ।

उनले यातायात क्षेत्रको सुधार र व्यवस्थापनका लागि प्राधिकरण स्थापना गर्नुपर्ने आफुहरुको माग रहेको जिकिर गरे । महासंघले वर्तमान सवारी तथा यातायात ऐन र नियमावली २०४९ समयसापेक्ष व्यवसायी सुरक्षित हुनुका साथै यात्रुमैत्री हुनेगरि संशोधन गर्नुपर्नेमा माग पनि राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय