एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या हुँदा दुई जना नाबालक पनि परेका छन्। तेजबहादुर कार्कीको ५ वर्षीया नातिनी र ८ वर्षीय नातिसमेत मारिएको खुलेको हो।
संखुवासभाको मादी नगरपालिका १ मा ६ जना मानिस मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 'हामीलाई बिहान १० बजेतिर खबर आएको हो,' संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले भने, 'धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा दुई बालबालिका सहित ६ जनाको शव भेटिएको छ।'
मृत्यु हुनेमा ५६ वर्षीय तेजबहादुर, उनकी बृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन्।
मादी नगरपालिका वडा नम्बर १ उम्लिंग खोलगाउँमा कार्कीको घर बाहिर उनीहरु मृत अवस्थामा भेटिएका हुन्। नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपले घटना भएको पुष्टि गर्दै उक्त स्थान नगरपालिकाको दुर्गम भेगमा रहेको छ। सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न ५ घन्टा लाग्छ।
धारिलो हतियार प्रहार गरेर उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवेदीले जानकारी दिए।
'कुनै खोल्सातिर कुनै घरतिर गरेर ६ जनाको शव भेटिएको खबर आएको छ,' सुवेदीले भने। प्रहरीको थप टोली अनुसन्धानका लागि घटनास्थलतिर लागिसकेको छ।










