२१ असोज, काठमाडौं। युरोपमा हिउँद नजिँकिदै छ । तर चिसो हिउँसलाई न्यायो बनाउन चाहिने ग्यासको मूल्य भने पछिल्लो समय ह्वात्तै बढेको छ ।
दुई दिनको अवधिमा ६० प्रतिशतले ग्यासको भाउ बढेसँगै युरोपेली युनियन सतर्क हुन थालेको छ । ऊर्जाको बढ्दो मूल्यले इक्विटी र बोन्ड मार्केटमा समेत हलचल ल्याइदिएको छ । तर आकासिँदो मूल्य रोकिने कुनै छाँटकाँट देखिँदैन ।
मंगलबार युरोपमा ग्यासको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । ग्यासको बेन्चमार्क मानिने डच टिटिएफको भाउ प्रति मेगावाट ११६ डलर पुगेको थियो । बुधबार बेलायत र अन्य युरोपेली मुलुकमा ग्यासको मूल्य २५ प्रतिशतभन्दा बढीले वृद्धि भयो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुक ग्यासको मूल्य स्थिर बनाउन तयार रहेको बताएलगत्तै बजारमा केही स्थिरता छाएको थियो । तर युरोपमा ग्यासको मूल्य बढिरहेका बेला राष्ट्रपति पुटिनले ग्यासलाई हतियार बनाउन खोजेको आरोप लागेको छ ।
रुसका उप-प्रधानमन्त्री अलेक्जाण्डर नोभाकले नर्ड स्ट्रिम-२ ग्यास पाइपलाइनलाई युरोपले तत्काल अनुमति दिएमा युरोपेली युनियनमा देखिएको संकट अन्त्य हुने बताइसकेका छन् ।
बुधबार नै राष्ट्रपति पुटिनले जारी ऊर्जा संकटका लागि युरोप नै दोषी रहेको टिप्पणी गरे । ग्यास आपूर्ति घटाएर पश्चिमी मुलुकलाई दबाब दिएको आरोप लागेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
यसअघि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले समेत ग्यास आपूर्ति सीमित पारेर युरोपेली मुलुकलाई दबाब दिएको कुरालाई खण्डन गरेका थिए ।
‘युरोपेली ग्यास बजारमा देखिइरहेको दृश्यमा रुसको कुनै भूमिका छैन’, पत्रकारसँग कुरा गर्दै पेस्कोभले भने ।
रुस तेल र ग्यासको ‘सुपरपावर’ हो । युरोपेली युनियनमा खपत हुने झण्डै ६० प्रतिशत ऊर्जा रुसले नै आपूर्ति गर्छ । रुसी सरकारको स्वामित्वमा रहेको ग्याजप्रोमले युरोपमा प्राकृतिक ग्यास निर्यात गर्छ । जर्मनी र इटाली रुसी ग्यासको मुख्य बजार हुन् । रुसले युरोपमा निर्यात गर्ने झण्डै ५० प्रतिशत ग्यास यी दुई मुलुकमा खपत हुने गर्छ ।
केही समयअघि चान्सलर एङ्गेला मर्केलले ग्यासलाई रणनीतिक ‘हतियार’को रुपमा प्रयोग गरे मस्कोमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएकी थिइन् ।



