एजेन्सी – बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुग्न सफल भएको छ । दुई गोलले पछि परेको अवस्थामा फ्रान्सले बेल्जियमलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक कारास्को र रोमेलु लुकाकुको गोल सान्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलको ३७औं मिनेटमा यान्निक कारास्कोको गोलबाट बेल्जियमले खेलमा अग्रता लिएको थियो । उनले केभिन डि ब्रुएनको पासलाई सदुपयोग गरेका थिए । ४०औं मिनेटमा केभिन डि ब्रुएनकै पासमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।
दुई गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल निकाल्दै जित निकाल्न सफल भयो । बेल्जियमले भने आफुले लिएको अग्रता जोगाउन नसक्दा फाइनल पुग्नबाट बञ्चित बन्यो । ६२औं मिनेटमा करिम बेन्जेमाले केलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्कने संकेत दिए ।
६९औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । युरी टिलेमान्सले एन्टोइन ग्रिजमनलाई फल गरेपछि रेफ्रीले फ्रान्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पे चुकेनन् । ८७आं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।
९०औं मिनेटमा थियो हर्नान्डेजले काउन्टर अट्याकमा बेन्जेमाको पासलाई सदुपयोग गर्दै फ्रान्सलाई ३–२ को जित दिलाउँदै फाइनलको यात्रा तय गराए । त्यसअघि ८८औं मिनेटमा पल पोग्वाको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।
अब फ्रान्सले उपाधिका लागि १० अक्टोवरमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । स्पेनले बुधबार राति इटालीलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । सोही दिन तेस्रो स्थानको लागि इटाली र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।



