काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीको आसन्न महाधिवेशन र स्थानीय तहका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ।

गत असोजमा सम्पन्न विधान महाधिवेशनको समीक्षा तथा वडा र स्थानीय तहको अधिवेशनलगायत एजेन्डामा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेले कात्तिक ६ गते देशैभर वडा अधिवेशन गर्ने र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राष्ट्रिय महाविधेशन मंसिर १० देखि १३ गतेसम्मका लागि तय भएको छ। महाधिवेशन स्थान भने आजको बैठकले टुंगो लगाउने बताइएको छ। गत असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनमा अर्को निर्णय नभएसम्म १०औँ महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरिएको थियो। तर, उक्त स्थान परिवर्तन हुने देखिएको छ।

बागमती प्रदेशको बुधबारको बैठकमा प्रदेश अध्यक्ष आनन्द पोखरेलले काठमाडौंमै राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए।