बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि भएका पछिल्ला हिंसाप्रति नेपाल, भारतसहित विश्वभरमा विरोध भइरहेको छ। यसक्रममा जापानको राजधानी टोकियोमा पनि पछिल्लो साता बंगलादेशमा साम्प्रदायिक हिंसाको विरोध गर्दै प्रदर्शन भएका छन्।

जापानी सञ्चारमाध्यम क्योडो न्युजका अनुसार टोकियोमा भारत, बंगलादेशका नागरिकले बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूको सुरक्षा र संरक्षणको माग गर्दै प्रदर्शन गरेका छन्। टोकियोस्थित बंगलादेशी राजदूतावासका अगाडि उनीहरूले साम्प्रदायिक आक्रमण बन्द गर्न र अल्पसंख्यकहरूलाई न्याय दिन माग गरेका छन्। उनीहरूले ‘हामी न्याय चाहन्छौँ’ लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बंगलादेशको कुमिल्लामा यही महिनामा साम्प्रदायिक झडप भएको थियो। त्यहाँको हिन्दू मन्दिरमा आक्रमणपछि परिस्थिति भड्किएको थियो। जापानमा जस्तै नेपाल, भारत, अमेरिका, बेलायतसहित एक सय ५० मुलुकमा हिन्दूहरूमाथि आक्रमणको विरोधमा प्रदर्शन भएका थिए।