जारी टी–२० विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ। उसले तेस्रो खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सहज जित निकालेको हो।
युएईको दुबईमा शनिबार राति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि अस्ट्रेलियाले १२६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। सो लक्ष्य इङ्ग्ल्यान्डले ११।४ ओभरमै २ विकेट गुमाउँदै भेट्टायो।
इङ्ग्ल्यान्डलाई सहज जित दिलाउन जोस बटलरले आक्रामक ब्याटिङ गर्दै नटआउट ७१ रन बनाए। त्यस्तै ज्यासो रोयले २२ तथा जोनी बेयरस्टोले १६ रनको योगदान गरे।
अस्ट्रेलियाका लागि एन्थोन अगर र आडम जाम्पाले १र१ विकेट लिए।
यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२५ रन बनाउन सकेको थियो। उसका आरोन फिन्चले ४४ रन जोड्नबाहेक कुनै पनि ब्याटसमेन क्रिजमा टिक्न सकेनन्। दुई जना ब्याट्समेन शून्यमै आउट भए भने तीन जनाले १र१ रनमात्र बनाउन सके। एन्थोन अगर २० र म्याथ्यू वेडले १८ रन बनाए।
जितसँगै सपुर १२ को ग्रुप १ मा रहेको इङ्ग्ल्यान्ड पहिलो स्थानमा कायम छ भने अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ। तीन खेलमध्ये २ मा जित हात पारेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ भने श्रीलंका चौँथो स्थानमा रहेको छ।
त्यस्तै वेस्टइन्डिज र बंगलादेश क्रमशः पाँचौँ र छैठौँ स्थानमा रहेका छन्।



