काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तोकेको इजलास बहिष्कार गरेका छन्। न्यायाधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट परेको इजलासबाहेक प्रधानन्यायाधीशले तोकेका सबै इजलास बहिष्कार गरेका हुन्।
जबराले आफ्नो एकल इजलासमा पनि एउटा मुद्दाको पेसी तोकेका थिए। मंगलबारको पेसीमा न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, हरिकृष्ण कार्की र सुष्मलता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडाल, डा। आनन्दमोहन भट्टराई र डा। मनोजकुमार शर्मा, डा। आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गाना, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठ, तेजबहादुर केसी र मनोजकुमार शर्मा तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास तोकिएको थियो।
प्रधानन्यायाधीश राणाले न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासमा एउटा बन्दी प्रत्यक्षीकरणको रिट तोकेका थिए। उक्त इजलास पनि त्यही रिट हेर्न मात्र बसेको छ। अरू मुद्दामा हेर्न नभ्याइने जनाउ दिएको छ।
बन्दीको एउटा मुद्दाबाहेक अरू सबै इजलास न्यायाधीशले बहिष्कार गरेका छन्। उहाँहरूले सर्वोच्चको वेबसाइटमा प्रकाशित पेसी सूचीमा बेन्च नबसेको जनाउ दिनुभएको छु, सर्वोच्चका एक अधिकारीले नेपाल समयसँग भने।
प्रधानन्यायाधीश राणाले भने आफ्नो एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका छन्। सर्वोच्चका १९ जना न्यायाधीशले उनीसँग इजलास सेयर नगर्ने र बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेक उनले तोकेका अरू कुनै मुद्दाको सुनुवाइ नगर्ने सहमति गरेका थिए।
कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणाले राजीनामा माग गर्दै आएका छन्। उनीहरूले राजीनामा नदिए अदालत प्रवेशमा रोक लगाउने चेतावनी दिएका छन्। नेपाल बार एसोसिएसनले मंलगबार आयोजना गरेको धर्नामा बोल्दै एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले ‘प्रधानन्यायाधीश जबरा बिचौलियाको नाइके’ भएको आरोप लगाए। उनले जबरालाई तुरुन्त राजीनामा दिन पनि चेतावनी दिएका छन्।



