म्यानमारको एक अदालतले अमेरिकी पत्रकार डेनी फेन्स्टरलाई ११ वर्ष जेल सजाय सुनाएको छ। अध्यागमन कानुन उल्लंघन गरेको र सेनाविरुद्ध गैरकानुनी कार्यमा सहभागी भएको ठहर गर्दै उनलाई सजाय सुनाइएको हो।

उनीविरुद्ध यही हप्तामात्रै आतंकवादी गतिविधिमा संलग्न भएको आरोप समेत लगाइएको थियो। उक्त मुद्दाको सुनुवाई भएको छैन। ती आरोप पुष्टि भए डेनीलाई जन्मकैद हुन सक्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फ्रन्टियर म्यानमार नाम गरेको अनलाइन समाचार पोर्टलको कार्यकारी सम्पादक रहेका फेन्स्टरलाई मे महिनामा यानगुन विमानस्थलबाट पक्राउ गरिएको थियो।

डेनीले पहिला स्वतन्त्र अनलाईन पोर्टल 'म्यानमार नाउ' मा काम गर्थे। फ्रन्टियरका अनुसार डेनीले जुलाई २०२० मा म्यानमार नाउबाट राजीनामा दिएका थिए र पक्राउ गरिएको बेला उनी फ्रन्टियरमा काम गरिरहेको जनाएको छ। डेनीलाई कू पछि प्रतिबन्धित 'म्यानमार नाउ'मा काम गरेकै आधारमा पक्राउ गरिएको फ्रन्टियरले जनाएको छ।

फ्रन्टियरले डेनीविरुद्ध लगाइएका सबै आरोपहरु गलत रहेको समेत जनाएको छ।

सेनाले सत्ता हातमा लिँदै कू गरे पछि म्यानमारमा विदेशी पत्रकारहरु सैन्य सरकारको निशानामा परिरहेका छन्। गत महिना मात्रै एक जापानी फ्रिल्यान्स पत्रकारलाई झुटो समाचार फैलाएको आरोपमा पक्राउ गरिएको थियो।