अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच मंगलबार बिहान कुराकानी भएको छ। पछिल्लो समय सम्बन्ध चिसिँदै गएका यी दुई शक्तिशाली मुलुकका नेताबीच भिडिओमार्फत् कुराकानी भएको हो।

चिनियाँ टेलिभिजन सिसिटिभीले बाइडेन र सीबीच झन्डै चार घन्टा कुराकानी भएको जनाएको छ। बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि पहिलो पटक दुई नेताबीच भिडिओमार्फत् कुराकानी भएको हो। उनीहरूबीच प्रत्यक्ष भेटघाट भने अझै भएको छैन।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाइडेन उपराष्ट्रपति हुँदा भने सीसँग धेरै पटक भेटघाट भएको थियो। त्यतिबेला सी पनि चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिमा शक्तिशाली बन्दै थिए।

आजको भिडिओ कुराकानीमा सीले बाइडेलाई आफ्नो पुरानो साथी भनेका थिए।

‘हामीले केही साझा मापदण्ड बनाउनु आवश्यक छ,’ बाइडेनले कुराकानीका क्रममा भने,‘हाम्रा नागरिकसँगै विश्वभरिका मानिसप्रति हाम्रो जिम्मेवारी छ।’

राष्ट्रपति सीले आफ्नो भनाइका क्रममा तनावलाई मत्थर पार्नु पर्नेतिर जोड दिएका थिए।

उनले अमेरिका-चीन सम्बन्धलाई सकारात्मक दिशामा अघि लैजान आफू बाइडेन प्रशासनसँग मिलेर काम गर्न तयार रहेको बताएको सिसिटिभीले उल्लेख गरेको छ।

सन् २०१८ देखि व्यापार युद्ध थालेका अमेरिका र चीनबीच पछिल्लो समय ताइवानको विषयमा तनाव चुलिएको छ।

तिब्बत, हङकङ र सिन्जियाङको मानव अधिकार, साउथ चाइना सीलगायत विषयमा पनि चीन र अमेरिकाबीच गहिरो मतभेद छ।