एक अर्काको देशका पत्रकारमाथिको यात्रा तथा भिसा प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत भएका छन् । मङ्गलवार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच भएको वार्तापछि यस्तो सम्झौता भएको हो ।
यो सम्झौताले अब दुवै देशका पत्रकारहरूलाई प्रवेश तथा फिर्ता जान थप स्वतन्त्र प्रदान गर्ने छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो कदमको स्वागत गर्दै प्रगतिको पहिलो चरणु भएको बताएका छन् ।
यस्तै चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यम चाइना डेलीले यो सम्झौता एक वर्ष भन्दा लामो समयको जटिल वार्तापछिको परिणामु भएको बताएको छ ।
गत वर्ष फेब्रुअरीमा अमेरिकाले चिनियाँ राज्य सञ्चालित मिडियालाई विदेशी मिसनुका रूपमा वर्गीकृत गर्दै मिडिया र मिडियाकर्मीमाथि कडाइ सुरु गरेको थियो ।
चीनले प्रख्यात अमेरिकी सञ्चार माध्यम न्यु योर्क टाइम्स, वासिङ्टन पोस्ट र वाल स्ट्रिट जर्नललगायतका १३ पत्रकारहरूलाई त्यहाँबाट निष्कासन गरेपछि अमेरिकाले सो कदम चालेको थियो ।
दुवै देशबिच अहिले भएको सम्झौतापछि ती पत्रकारहरू फिर्ता जान पाउँछन् कि पाउँदैनन् भन्ने कुरा भने स्पष्ट भइसकेको छैन ।



